नेपालकै लामो ‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न, पुरूषतर्फ रमेश र महिलातर्फ अनिताले जिते उपाधि

नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा पुरूषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् ।

एक सय ७० किलोमिटर रेस लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका हुन् ।

विद्यार्थी जीवनमा घरबाट स्कुल जाँदा ताप्लेजुङमा करिब एक घण्टाको बाटो दौडने गरेको बानी नै आफ्नो दौडको आधार भएको लिम्बूले बताए ।

विजेता लिम्बू र राईले सन् २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विटजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस’ मा सहभागी हुने अवसर प्राप्त गरेका छन् । सो अवसरमा उनीहरूको आर्थिक लगायत यात्रा व्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले संयोजन गर्नेछ ।

शुक्रबार बिहान ६ बजे काठमाडौँको दहचोकस्थित कालुपाँडे डाँडाको फरेस्ट क्याम्पबाट एक सय ७० किलोमिटर दौड सुरू भएको थियो । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एक मात्र भएको आयोजकले जनाएको छ । रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरिलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कुल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए ।

उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको आयोजक मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले बताए । उनका अनुसार रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका छन् । जसअन्तर्गत झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता समावेश गरिएका थापाले जानकारी दिए । उनका अनुसार सबै दौड दह चोकस्थित कालुपाँडे डाँडामै पुगेर सकिएका थिए ।

९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरूषतर्फ विक्रम थामी विजेता बने । महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता नभएको आयोजकको भनाइ छ । ५४ किलोमिटर रेस आठ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरूषतर्फ विकल्प पोख्रेल र महिलातर्फ आठ घण्टा ३६ मिनेट तीन सेकेन्डमा पार गर्दै मन्जु रावत प्रथम भएका छन् ।

त्यस्तै २४ किलोमिटर रेस तीन घण्टा पाँच सेकेन्डमा पार गर्दै पुरूषतर्फ श्याम मग्राती र महिलातर्फ तीन घण्टा ३९ मिनेट नौ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम भएका छन् । विजेताले मेडल, प्रमाणपत्र र ‘एड्भेन्चर गियर’ लगायतका पुरस्कार पाएका छन् ।

प्रतियोगिता चार चरणमा सम्पन्न भएको थियो । चार चरणमा गरी ६७ नेपाली र २१ विदेशी गरी ८८ प्रतियोगी सहभागी भएका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १९ जना महिला सहभागी थिए । यही प्रतियोगिताका लागि विदेशीसमेत नेपाल आएका थिए । यसरी विदेशमासमेत नेपालको अल्ट्रा ट्रेल रेसको प्रतिष्ठा बढ्दै गएको थापाको भनाइ थियो ।

युरोपका विभिन्न अल्ट्रा ट्रेल रेस भन्दा नेपालका ट्रेल रेस रूट उत्कृष्ट लागेको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध बेलायती नागरिक रोल्याण्ड हुन्टेरले बताए । हुन्टेर एक सय ७० किलोमिटर दौडमा दोस्रो भएका थिए ।

‘ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो । यसको अझै प्रचार र व्यवस्थापन हुनसके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ,’ अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मी ओस्त्रोमले भने,’ एक सय ७० किमी दौडदा ९० प्रतिशत भन्दा भढी भागमा मानवनिर्मित संरचना भेटिदैनन् ।’ राजधानी नजिक भएर पनि यसरी कृत्रिम संरचनारहित भएर प्रकृतिको काखमा रमाउन पाउनुमा बेग्लै आनन्द रहेको उनको भनाइ थियो ।

नेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको संस्कृति भने बिस्तारै विकास हुँदै गइरहेको रेस व्यवस्थापक महेश दाहालले बताए । ‘यस किसिमको प्रतियोगिताले नेपालमा रेस संस्कृतिको विकास गर्न र नेपाली धावकलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित रेसमा प्रतिस्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ,’ उनले भने ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले । जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटक-पटक गरी ट्रेलको वैकल्पिक रूटसहित नक्शाङ्कन गरेका थिए ।

विभिन्न चरणमा विभिन्न व्यक्तिको संलग्नतामा एक सय ७० किमी दूरीको यो रूट पूर्ण रूपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो । फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एशोसिएशन (आईटीआरए) र विश्वव्यापी रूपमा ट्रेल धावककोस्तर मूल्याङ्न तथा निर्धारण गर्ने संस्था यूटीएमबीको सम्बन्धनप्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रियस्तरमा महत्त्वका साथ हेरिन्छ ।

आईटीआरएको मापदण्डअनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ को निर्धारित दूरी पूरा गर्ने सहभागीले आईटीआरएबाट छ अङ्क प्राप्त गर्छन् । यो आईटीआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुने जनाइएको छ । सुविधासम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रूट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ ।

उक्त रेस ट्रेलमाण्डुसँगको सहकार्यमा आयोजना गरिएको हो । मन्जुश्री ट्रेल रेसको रुट काठमाडौँ उपत्यकालाई घेरेका पहाडको डाँडैडाँडा भएर अगाडि बढ्छ । चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौँ उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिँडेको बाटो/पदचाप पछ्याउँदै रेसको रूट बनाइएको छ ।

आयोजकका अनुसार दौडको रूटमा १९ चेक पोइन्ट छन् । कालुपाँडे डाँडाबाट सुरू भएको रूट रामकोट, जामाचोक, तीनपिप्ले, गोर्जे भञ्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भञ्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालुपाँडे डाँडामा नै पुगेर फरेस्ट क्याम्पमा साङ्गीतिक प्रस्तुतिसहित समापन गरिएको हो ।

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि आकर्षण बनेको छ । हिमालय शृङ्खला, काठमाडौँं उपत्यका, जङ्गल, पहाड, गोरेटोका दृश्यावलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

प्रतिक्रिया

One thought on “नेपालकै लामो ‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न, पुरूषतर्फ रमेश र महिलातर्फ अनिताले जिते उपाधि

  1. यस्तो प्रोग्राम मा participate गर्न म जस्तो पब्लिक लिए कसरी सकिन्छ जानकारी पाउन पाए आभारी हुनि थिए!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर