विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

नेपालले विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज (बिहीबार) यूएईसँग खेल्दैछ। यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो।

यूएईविरुद्धको खेल अघि राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका लागि आफुहरुले राम्रो तयारी गरेको बताएका छन्। युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ।

दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ।

जस अनुसार पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *