एमेच्योर गल्फर सद्भाव सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन शीर्ष स्थानमा

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सद्भाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा उक्लिन सफल भएका छन्।

राष्ट्रिय गल्फ टिमका सदस्य सद्भावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे। दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७-अन्डर ६५ खेले। समग्रमा ७-अन्डर १ सय ३७ सहित दोस्रो स्थानमा उक्लिए। समग्रमा ५-अन्डर १ सय ३९ को स्कोरमा तेस्रो स्थानमा उक्लिएका जयराम श्रेष्ठले ३-अन्डर ६९ खेले।

पहिलो दिनका लिडर एमेच्योर टासी छिरिङले २-अन्डर १ सय ४२ को नतिजामा चौथो स्थानमा तल झरे। उनले आज ५-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। आज ३-अन्डर ६९ स्कोर गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ४३ सहित पाँचौ स्थानमा रहे। समग्रमा इभन पार १ सय ४४ सहित भुवन नगरकोटी छैटौ स्थानमा छन्। उनले आज १-अन्डर ७१ मा दिनको खेल सकाए।

समग्रमा १-ओभर १ सय ४५ स्कोरका साथ सञ्जय लामा र नीरज तामाङले संयुक्तरुपमा सातौं स्थान बाँडे। नीरजले आज ३-अन्डर ६९ मा र ४-ओभर ७६ मा खेल सकाए। कुमार कामी र प्रदीपकुमार लामा समग्रमा २-ओभर १ सय ४६ सहित संयुक्तरुपमा नवौं स्थानमा रहे। कुमारले १-अन्डर ७१ र २-ओभर ७४ मा खेल सकाए।

शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। ब्याक नाइन भने १-अन्डर ३५ मा पुरा गरे। १०औं, १२औं र १५ औं होलमा एक-एक सट बचाए पनि १०औं र १८औं होलमा बोगी खेपे।

दिनेशले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर ३१ खेले। उनले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि उनले ११औं, १५औं, १६औं र १७ औं होलमा चार बर्डी प्रहार गरेपनि १२औं र १४ औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। यो स्कोरमा उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहेका छन्।

जयरामले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा फ्रन्ट नाइन सकाउँदै सानदार सुरुवात गरे। तर यो लयलाई ब्याक नाइनमा निरन्तरता दिन सकेनन्। ११औं र १६औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १७औं होलमा बोगी र १४ औं होलमा डबल बोगीको सामना गरे। उनले ब्याक नाइन २-ओभर ३८ मा सकाए।

१४-ओभर १ सय ५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फरहरू रमेश अधिकारी, रवि खड्का, बल भद्र राई, तोरण विक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवरा पौडेल, पशुपति शर्मा, भु बहादुर गुरुङ, दलबहादुर लामा र टाशी घलेले कट बनाएका छन। यस्तै अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राईपनि अन्तिम १८ होलको प्रतिस्पर्धाको लागि स्थान बनाएका छन्।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर