इजरायल-हमास युद्ध

इजरायल र हमासबीच युद्धविरामसँगै विपीन जोशी रिहा हुने आश

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच पाँच दिनका लागि युद्धविरामसहित हमासले बन्धक बनाएका ५० जनालाई तत्काल रिहा गर्ने सहमति भएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने अपेक्षा बढेको छ।

इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा महिला र बच्चासहित ५० जनालाई रिहा गर्ने सहमतिसँगै विपीन पनि सकुशल रिहा हुन सक्ने सम्भावना बढेको हो। हमासले बन्धक बनाएका ५० जनालाई चार दिनभित्र रिहा गर्ने सहमति भएको छ।

बन्धक बनाइएकाहरूलाई रिहा गरिसकेपछि भने सैन्य अभियान फेरि सुरू हुने इजरायलले जनाएको छ। हमासले मानवीय सहायताका लागि युद्धविराममा सहमति जनाएको हो।

यसअघि परराष्ट्र मन्त्रालयले हमासको नियन्त्रणमा रहेका विपीन सुरक्षित रहेको जनाएको थियो। तर, इजरायलस्थित नेपाली दूतावासले भने मंसिर ४ मा विज्ञप्ति जारी गर्दै उनी अझै सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको तथा खोजीकार्य जारी रहेको जनाएको थियो।

परराष्ट्र मन्त्रालय र दूतावासको फरक-फरक सूचनाले विपीनको अवस्थाबारे अन्योलता सिर्जना गरेको थियो। यद्यपि इजरालयी रक्षा बल (आईडीएफ) ले नै हमासले एक नेपाली र एक थाई नागरिक बन्धक बनाएको भिडियो सार्वजनिक गरेसँगै विपीन सुरक्षित रहेको पुष्टि भएको हो।

गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा परेका थिए। उनी अहिले गाजास्थित अल-शिफा अस्पतालमा हमासको नियन्त्रणमा छन्।

परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघि उनको उद्धारका लागि सरकार सक्रियतापूर्वक लागिरहेको बताएका थिए।

उनको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उनका आमाबुबाले परराष्ट्रमन्त्री साउदसँग भेट गरेका थिए। परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकारलगायतका निकाय अथक प्रयासमा रहेको बताएका थिए।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए। असोज २० गतेको उक्त आक्रमणका बेला जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर