नेपालका सांसद भन्छन्- पोखरा विमानस्थलको चिनियाँ ऋण तिर्ने कि छिर्ने ?

गत वर्ष १७ पुसदेखि सञ्चालनमा आएको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छैनन् । चिनियाँ ऋण लगानीमा निर्माण गरिएको यो विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीले मात्र उडान गर्दै आएका छन् । र, आन्तरिक उडान पनि आशलाग्दो छैन । गत १ माघमा यती एयरलाइन्सको विमान उक्त विमानस्थलमा अवतरण गर्नु केहीअघि सेती खोँचमा दुर्घटनाग्रस्त भएपछि विमानस्थलप्रतिको धारणा झनै बिग्रिएको छ ।

सरकारले गौरवको आयोजनाका रूपमा निर्माण गरेको यो विमानस्थल नामअनुसार सञ्चालन हुन सकेको छैन । पोखराजस्तो पर्यटकीय गन्तव्यमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारलाई प्रशस्त आम्दानी हुनुपर्नेमा त्यसको विपरीत मुलुक चिनियाँ ऋणको पासोमा फस्दै गएको छ ।

जानकारहरूले पोखरा विमानस्थल नेपाललाई चिनियाँ ऋणको गलपासो बन्ने चेतावनी यसअघिदेखि नै दिँदै आएका हुन् । र, त्यसको परिणाम अहिले देखा पर्न थालेको छ अर्थात् विमानस्थलका लागि सरकारले लिएको ऋण तिर्न नसक्ने अवस्था आएको छ । यस सन्दर्भमा सांसदहरूले पनि आवाज उठाउन थालेका छन् ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले नेपालीहरू पोखरा विमानस्थलको ऋणमा फसेको बताएका छन् । उनले पोखरासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा नरहेको उल्लेख गरेका छन् ।

‘तिर्ने कि छिर्ने ? पोखरा एयरपोर्टको ऋणमा हामी नेपाली ! झलनाथजी की जय !,’ सांसद बजगाईंले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पोखरा विमानस्थलको ऋण २२०५९८४०००० (१३७८७४०००० चिनियाँ मुद्रा) अर्थात् २२ अर्ब नेरूको पहिलो ब्याज चुक्ता गर्ने हद ईसं २०२२ र दोस्रो समयावधि २०२३ अक्टोबर गुज्रिसक्यो । यसको पेनाल्टी के हो थाह छैन तर ब्याजदर भने ५% रहेको छ । यो भन्नाले एउटा किस्ता ब्याज नै रू ११०२९९२००० हुन्छ ।’

सांसद बजगाईंले भनेजस्तै ऋण तिर्न नसक्ने जोखिमका बीच अर्कातिर चीनले भने ऋणमा बनाइदिएको विमानस्थललाई चिनियाँ राष्ट्रपति सी चिनफिङको विवादित अवधारणा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाअन्तर्गत निर्माण भएको भनेर पनि प्रचारबाजी गर्दै आएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पटक-पटक यो विमानस्थल बीआरआईको हिस्सा भएको मिथ्या अभिव्यक्ति दिँदै आएका छन् । जबकि नेपालमा बीआरआई कार्यान्यवन नै भएको छैन । विमानस्थल निर्माणका लागि सरकारले चीनबाट चर्को ब्याजमा ऋण लिएको तथ्य कसैका सामु छुपेको छैन ।

यसबाट चीन नेपालमा कसरी आफ्नो स्वार्थ सिद्धि गर्न खोजिरहेको छ भन्ने स्पष्ट हुन्छ । स्मरण रहोस्, बीआरआई परियोजना विश्वका विभिन्न देशमा कार्यान्वयन भएर असफल सिद्ध तथा मुलुकहरूलाई आफ्नो ऋणको जालोमा फसाउने चिनियाँ षड्यन्त्र साबित भइसकेको हो । यसको ज्वलन्त उदाहरण श्रीलंका हो । ठूलो उपलब्धिको आशासहित बीआरआई परियोजनामा सामेल भएको श्रीलंकाले परियोजना कार्यान्यवनको एक वर्ष नपुग्दै गम्भीर आर्थिक संकटको सामना गर्नुपरेको अवगत नै छ ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

ग्रेस पिरियड चाँडै सकिँदै छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार पहिलो किस्ताबापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन आगामी चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महिनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ ।

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरू भएको थियो । र, यो हालै नेपाललाई हस्तान्तरण भएको हो ।

यसअघि विमानस्थलमा मुख्य उपकरण जडान नगरी हस्तान्तरण गरिएको खुलासा भएको थियो । विमानस्थलमा विमान अवतरणका लागि आवश्यक मुख्य उपकरणमध्येको एक इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) विमानस्थल हस्तान्तरणपछि मात्र जडान भएको हो । आईएलएस जडानअघि नै पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

विमानस्थलमा गत ११ फागुन (२३ फेब्रुअरी) मा उक्त उपकरण जडान भएको थियो । जबकि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत १७ पुस (१ जनवरी) मा विमानस्थलको उद्घाटन गरेका थिए । यती एयरलाइन्सको विमान १ माघ (१५ जनवरी) मा विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

यती एयरलाइन्सको विमान विमानस्थल नजिकै आइपुग्दा दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुवै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको दुुर्घटनाबारे छानबिन गर्न सरकारले बनाएको जाँचबुझ समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थलमा दुर्घटनापछि मात्र अवतरण प्रणाली इन्स्टुुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालन भएको पनि खुलेको छ । विमानस्थलमा गत ११ फागुन (२३ फेब्रुअरी) मा उक्त उपकरण जडान भएको विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पर्दाफासलाई जानकारी दिइन् । सामान्य तथा प्रतिकूल अवस्थामा अवतरणका लागि यो उपकरणको प्रयोग हुन्छ ।

यसका साथै निर्माण सम्पन्न भएको वर्षदिनभित्रै यस विमानस्थलमा प्राविधिक समस्याहरू देखिन थालेका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले तामझामका साथ सुरूआत गरेको विमानस्थलको गत असोज १५ मा रडार बिग्रिँदा काठमाडौंबाट उडेका दुई जहाज अवतरण नगरी फर्किएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका थिए । रडारमा रहेको भीएएचएफ सिस्टम बिग्रिएपछि उडान अवरूद्ध भएको थियो ।

उक्त दिन यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केका थिए ।

पोखरा विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यती र श्री एयरका जहाज काठमाडौं फिर्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *