कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह- विपिन जोशीको रिहाइका लागि पहल गरिदिनुस्

विदेश राज्यमन्त्रीको जवाफ- यथाशीघ्र पहल गर्छौं

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

विद्रोही हमासले रिहा गर्न लागेको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन उनीसमक्ष मन्त्री साउदले विशेष अनुरोध गरेको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरे।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर