टहरो बन्यो, छानो छैन : दाताले आश्वासन दिए तर त्रिपाल समेत दिएनन्

जाजरकोट केन्द्र भएर भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन्। गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।

बिदापछि विद्यालय खुलेको एक साता बितिसक्दा पनि भूकम्प प्रभावित अधिकांश विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण हुन सकेका छैनन् । त्योभन्दा पनि विडम्बनाको अवस्था प्रतिबद्धता अनुसारको सामग्री नपाउँदा जसोतसो बनाइएका टहरामा बाँसका खम्बा र डाँडाभाटा मात्र छन् । विद्यार्थी खुला चउरमा बसेर फर्कन बाध्य छन्

भवन भत्किएका र चर्किएका विद्यालयमा अस्थायी सिकाइ केन्द्र बनाउने स्थानीय सरकारको निर्णय पूर्ण कार्यान्वयन नहुँदा बालबालिकाको पढाइ प्रभावित भएको हो । आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण हुन नसक्दा विद्यार्थी चौरमै बसेर फर्कने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले अस्थायी सिकाइ केन्द्र निर्माणका लागि आवश्यक सामग्री दिने आश्वासन दिएका दाता संस्थाले हालसम्म पनि त्रिपाल, प्लास्टिक लगायतका सामग्री नदिएको गुनासो गरे। कात्तिक २८ गते नै सामग्री दिने वचन दिएका सहयोगी निकायबाट समयमै अस्थायी सिकाइ केन्द्र निर्माणका लागि सामग्री नपाएको उनको गुनासो छ ।

प्रअ थापाले भने, “गाउँलेलाई बोलाएर स्थानीय सामग्रीको जोहो गरेर टहरा त बनाएका छौँ तर टहरामाथि लगाउने र बिछ्याउने सामग्रीहरू कहीँ कतैबाट पाएका छैनौँ ।”

आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले अस्थायी सिकाइ केन्द्र निर्माणमा ढिलाइ भइरहेको स्वीकार गरे। “आठबिसकोेटमा मात्रै १३९ अस्थायी सिकाइ केन्द्र बनाउने हो,” विष्टले भने, “तर शनिबारसम्म पाँच विद्यालयमा १७ वटा मात्र अस्थायी सिकाइ केन्द्र तयार भएका छन् । अझै १२२ वटा बनाउन बाँकी छ ।”

भूकम्पले क्षति पुगेका विद्यालयमा खुला चौरमै पढाइ भइरहेको उनले जानकारी दिए। आठबिसकोटका ६४ विद्यालयमध्ये ५३ वटा विद्यालय, २५२ कक्षा कोठा र ७६ वटा शौचालय भूकम्पले प्रभावित बनेका छन्।

भूकम्पले प्रभावित सानीभेरी गाउँपालिकाका सबै विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण भएका छैनन् । सानीभेरी गाउँपालिकाका शिक्षा अधिकृत भूपाल सिंह विष्टले अस्थायी सिकाइ केन्द्रका लागि संरचना निर्माणको काम सबै विद्यालयमा पूरा भएको र केही विद्यालयमा त्रिपाललगायतका सामग्री पुग्न नसकेको बताए।

सानीभेरी गाउँपालिकामा रहेका ४९ वटा विद्यालयमध्ये ३२ वटामा क्षति पुगेको छ। ७४ वटा अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गरिने तयारी रहेको विष्टले बताए। दुई, तीन दिनभित्रै सबै विद्यालयमा अस्थायी सिकाइ केन्द्र भइसक्ने उनले जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर