राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेकाे सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेकै मितिमा राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएकाे हाे।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आगामी फागुन २० गते सकिँदै छ। २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका २० जना राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुनमा सकिन लागेको हो ।

पदावधि सकिन लागेका सांसदमध्ये नेपाली कांग्रेसका मुख्य सचेतक अनिता देवकोटा, संसदीय दलका नेता रमेशजंग रायमाझी, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन्।

त्यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पदावधि सकिन लागेकाे हाे।

पदावधि सकिनेको माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टीका (जसपा) का सांसद एवं शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि रहेका छन् । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर