कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित

कोशी प्रदेश सरकारको बजेट बुधबार बसेको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले पारित भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित भएको हो ।

बजेटमा चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार रूपैयाँ विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड, नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रूपैयाँ व्यहोरिने बजेटमा उल्लेख गरिएको छ ।

‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० (विनियोजन विधेयक) माथि आठजना सांसदले खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए ।

मुख्यमन्त्री केदार कार्कीले बजेटमा नमिले र कुनै क्षेत्रमा अन्याय परेको अवस्थामा सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।

गत भदौ २४ गते तत्कालीन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रूपैयाँको बजेट ल्याएका थिए ।

अध्यादेश प्रतिस्थापन विधेयकमार्फत मुख्यमन्त्री कार्कीले गत शनिबार ५० करोड थपेर ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर