गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एसोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो ।

प्रतिनिधिमण्डलले आज क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो । महानिर्देशक अधिकारीले सो ज्ञापनपत्र बुझ्दै सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

यसैबीच यसअघि नाट्टाको टिमले आज सोमबार काठमाडौँस्थित एशियाली विकास बैंकका नेपाल प्रतिनिधिलाई समेत भेटेर यस विषयमा कुरा राखेको थियो । नाट्टाको लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडीबीको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडिबिको पनि सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

यसअघि नाट्टा लुम्बिनी टिमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि भैरहवा तथा लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले अबौँ रूपैयाँ लगानी गरेका र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा पर्यटन पूर्वाधारको लगानी खेर गएको बताएका छन् ।

त्यसैले यहाँका व्यवसायीले सरकारसँग यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै आएका छन् । लुम्बिनी क्षेत्रका पर्यटन तथा अन्य सङ्घसंस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म सडक आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर