राअविका पूर्व अनुसन्धान अधिकृत बस्नेतको सर्टिफिकेट नक्कली भएको अख्तियारको ठहर, मुद्दा दर्ता

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का पूर्व अनुसन्धान अधिकृत माधव बस्नेतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विभागमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुुद्दा दर्ता गरेको हो।

बस्नेतको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै छानबिन गरेर कारबाही गर्न मागसहित अख्तियारमा उजुरी परेको थियो। यस सम्बन्धमा छानबिन गर्दा उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएर बढुवासमेत भएको देखिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकाले उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा कैद र जरिवानाको मागदाबी लिएर मुुद्दा दर्ता गरिएको सहायक प्रवक्ता थपलियाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *