कतारले भन्यो– विपिनको रिहाइका लागि प्रयासरत छौँ, चाँडै सकारात्मक परिणाम आउन सक्छ

कतारले विपिन जोशीलाई प्यालेस्टाइनबाट रिहाइका लागि पहल भइरहेको बताएको छ। परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार दोहामा भएको भेटवार्तामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले यसका लागि निरन्तर प्रयास गरिरहेको र आफू आशावादी रहेको पनि बताएका छन्।

‘मैले कतार नेपालको नजिकको मित्र भएको र कतारमा दोस्रो ठूलो समुदायका रूपमा नेपालीहरू रहेको स्मरण गराउँदै विपिनको रिहाइका लागि प्रयास गर्न पुनः आग्रह गरेँ,’ भेटवार्तापछि परराष्ट्रमन्त्री साउदले दोहाबाट भने, ‘उहाँले विपिनसहित सबै विदेशी बन्दीहरू छुट्छन् । हामी प्रयास गर्दै छौँ भन्नुभएको छ । म आशावादी पनि छु ।’

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका थिए । ‘विपिन जोशीलाई  रिहाइ गर्ने मानवीय मामिलामा कतारसँग नेपालले ठूलो आशा गरेको मैले स्पष्ट रूपमा राखेको छु, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो,’ मन्त्री साउदले भने, ‘विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि चाँडै नै सकारात्मक परिणाम आउन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर