तस्करको संरक्षण र असुलीमा सशस्त्रका डीआईजीका घुमुवा : डीएसपीको संयोजकत्वमा छानबिन समिति

सशस्त्र प्रहरी बल, नेपाल कोशी (बराह बाहिनी) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेलले आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने मानक स्थापना गर्ने बताएका थिए ।

गत मंसिर १८ गते झापाको मेचीनगर-७ स्थित सतीघट्टाबाट नेपाल-भारत सीमा नाका छुट्याने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्यको शुभारम्भ गर्दै डीआईजी पोखरेलले सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रूपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र ) ले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको छ ।

डीआईजी पोखरेल आफैंले खटाएका प्रहरी सहायक निरीक्षक कुँवरले झापामा अवैध असुलीका लागि सेटिङ मिलाउने काम गरेको पाइएको हो । डीआईजी पोखरेलले विश्वास पात्रका रूपमा खटाएका सिकेन्द्रले असुली धन्दा चलाउने गरेको खुलासा भएको हो ।

डीआईजीबाट परिचालित घुमुवा सिकेन्द्र आफैंले तस्करीमा संलग्न साना कारोबारीका सबै कारोबार ठप्प पार्दै ठूला कारोबारीसँग मात्र साठगाँठ गर्ने र सामान वारिपारि गर्ने प्रबन्ध मिलाउन सहयोग पुर्‍याउने गरेको स्रोतको दाबी छ । उनले माथिको आदेश भन्दै झापामा कार्यरत सशस्त्र प्रहरीलाई समेत दुःख दिने गरेको प्रहरी स्रोतकै दाबी छ । जिल्लाको घुमुवा भएर काम गरिसकेका उनले भद्रपुर र काँकडभिट्टासहितका नाकाबाट भित्रिने र बाहिरिने सामग्रीको लाइन मिलाउने काम गर्दै आएको बताइन्छ । सोबापत उनले मोटो रकम असुल्ने गरेको स्रोतको दाबी छ ।

याे पनि-

सशस्त्र प्रहरीकाे मिलेमतोमा हुँदै आएकाे काठ तस्करीकाे जालाे नेपाल प्रहरीले ताेड्याे

पूर्वी नाका काँकडभिट्टामा कार्यरत रहँदा एचएमसी होटलसँग साठगाँठ गर्दै भारू पैसा ओसारपसारमा समेत उनी संलग्न भएका थिए । योसँगै उनले तस्करीमा समेत सहयोग पुर्‍याउँदै आएका थिए । काँकडभिट्टा हुँदा उनको ठूला तस्कर समूहसँग राम्रो सम्बन्ध थियो ।

डीआईजी पोखरेलको विश्वास पात्र बनेका सिकेन्द्रको सरूवा सिन्धुपाल्चोक भए पनि उनी शक्तिको प्रयोग गर्दै झापामा बसेका छन् । झापामा दबदबा जमाएर बसेका उनीसँग सशस्त्र प्रहरीका अधिकृतहरू नै हच्किने गरेका छन् ।

भद्रपुरबाट केही समयअघि उनलाई मन नपरेका अर्थात् नजराना नबुझाउने व्यापारीको सामान बरामद गर्दै उनै सिकेन्द्रले राजस्व कार्यालय पठाएका थिए । तर, उनलाई नजराना बुझाउने व्यापारीको भने उनले संरक्षण गर्दै आएको सशस्त्र प्रहरीहरूकै भनाइ छ ।

‘झापामा सिकेन्द्रकै कारण सशस्त्र प्रहरी दुई गुटमा विभाजित छ,’ एक सशस्त्र प्रहरीले भने ‘सिकेन्द्रकै डरले गणले घुमुवासमेत खटाउन सकेको छैन ।’

यता सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको विषय सार्वजनिक भएसँगै सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश कटुवालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।

सशस्त्र प्रहरी नम्बर २ गण झापाले छानबिन समिति गठन गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए । गठित समितिले काम सुरू गरेको बताइएको छ । सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुमार खड्काले तोडेसँगै सशस्त्र प्रहरी विवादमा परेको हो ।

दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी र अर्जुनधारा नगरपालिका-५, बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहित ट्र्याक्टर र अर्जुनधारा-३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानी घुस रकमसहित पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो । सोही घटनाका विषयलाई लिएर छानबिन समिति बनेको हो ।

स्रोत : सुरेन्द्र भण्डारी, झापा/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर