वीरगञ्जमा मेयर-उपमेयर पक्षबीच हानाहान, के हाे विवादकाे चुराे?

गैरकानुनी नियुक्ति, भ्रष्टाचार र कमिसनको खेलमा डुबेको आरोप लागेको मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसो हानाहान भएको छ। यो कुटाकुट महानगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलम पक्षबीच भएको हो। दुवै पक्षका मसलधारीको घम्साघम्सी बढ्दै गएपछि प्रहरी नायब उपरीक्षक कुमार थापाको नेतृत्वमा वीरगञ्ज महानगरपालिकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष महानगर प्रमुखको कार्यकक्षको नजिक सारिएपछि विवाद बढेको हो। अर्को भवनमा प्रमुख प्रशासकीय अधिकृत सरेपछि पुरानो कोठामा उपमेयरको सचिवालयका लागि भनेर ताल्चा लगायो। खासमा उक्त कोठामा मेयरले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने आदेश दिए। तर, अर्को पक्षले उपमेयरको सचिवालय राख्ने कब्जा गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

विवाद ‘कार्यकक्ष’ लाई लिएर भनिए पनि खासमा प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफूतिर तान्ने’ रणनीतिका कारण झगडा भएको कर्मचारीहरू बताउँछन्। महानगरका एक कर्मचारीले भने, ‘उपमेयरको कार्यकक्षसँगै प्रशासकीय अधिकृतको कार्यकक्ष राखेमा धेरै कुरा उपमेयरलाई थाहा हुने र उनलाई धेरै कुरामा हिस्सेदारीलाई दिनुपर्ने भएकाले मेयर साहबले अधिकृतलाई आफूतिर तानेका हुन। मेयर र नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष सँगै भएपछि आफूलाई पन्छाइने हो कि भन्ने डर उपमेयर पक्षलाई छ। झगडाको चुरो कुरा पनि यही हो।’

महानगर प्रमुख सिंहले तला थपेर कार्यकक्ष माथि सारे पछि आफू बस्दै आएको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतको सारेका हुन। प्रमुख प्रशासकीय अधिकृतको पुरानो कार्यकक्षमा वीरगन्ज महानगरले पञ्जिकरण शाखा राख्ने तीन दिनदेखि तयारी गर्दै आएको थियो। सामान सार्दै गर्दा उपप्रमुखको सचिवालयले त्यो कोठा ताल्चा लगाएपछि विवाद बल्झिएको हो।

नगर प्रमुख राजेशमान सिंहको अनुरोधमा उपमेयरले लगाएको ताल्चा खोल्न केही वडाध्यक्षको टोलीसहितले मंगलबार बिहान प्रयास गरेपछि दोहोरो हानाहान भएको हो। विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए। सुरूमा अवस्था उग्र भए पनि प्रहरीको सहयोगमा सामान्य भएको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

स्रोत : अनिल तिवारी, वीरगञ्ज/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर