भिजिट भिसामा अध्यागमनको दररेट, नयाँको ५० पुरानालाई १० हजार छुट

नेपाल प्रहरीले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी, सुन तथा नगद तस्करी र गैरकानूनी गतिविधि रोक्न थालेको अपरेशनमा सरकारका जिम्मेबार निकायहरुले दररेट तोकेर यसमा सघाएको जनाएको छ ।

प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेसँगै यसमा संलग्न बहालवाला प्रहरी र पूर्व प्रहरी, विमानस्थल कर्मचारी, अध्यागमन अधिकारी र अन्यहरुको संलग्नता पुष्टि गरेको हो ।

प्रहरी अनुसन्धानमा भिजिट भिसामा सरकारले लिएको नीति विपरित अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा ४० हजार रुपैयाँ लिएर नक्कली कागजपत्रधारीहरुलाई अध्यागमन अनुमति दिने गरेका थिए । यस्तै कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका थिए ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले बुधवार पत्रकार सम्मेलन गरेर गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

उनकाअनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । उनले ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए । ८ जना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान प्रारम्भ भएको बताए ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीकाअनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेको उनले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेको पनि उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर