चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा

वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ ।

श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो । सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि दैनिक तीन पटकसम्म उक्त चुरे क्षेत्रमा गस्ती गर्ने गरिएको बताए ।

‘यसअघि पनि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तर यसपटक सो क्षेत्रमा नगएका अन्य सैनिकलाई चुरे पर्यटन प्रवर्द्धन र पर्यावरणबारे जानकारी गराउने उद्देश्यले एक दिने यात्राको कायम गराएका छौँ,’ उनले भने ।

निकुञ्जभित्र कुन ठाउँ कस्तो छ र पर्यटकहरूलाई कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय टोलीले अध्ययन गरेको प्रमुख सेनानी खड्काको भनाइ छ ।’बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नु सेनाको पनि दायित्व हो’, उनले भने, ‘सो अवसरमा पर्यटकीय भूभागबारे स्थलगत अध्ययन गरिएको थियो ।’

दाङ, सल्यान र बर्दियाका भूभागलाई छुने निकुञ्जमा धेरै घाँसे मैदान छन् । उक्त चुरे भ्रमणमा श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापासँगै प्रमुख सेनानी रोजेश खत्री, प्रमुख सेनानी दीपक गुरूङ र अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काको सैन्य टोली संलग्न थियो ।

सेनाका अधिकारीहरुले बाघलगायत अन्य वन्यजन्तुले पानी खाने ठाउँहरूको पनि स्थलगत निरीक्षण गरेका थिए । निकुञ्जभित्र सेनाले नयाँ ‘फायर लाइन’ निर्माण गर्नुका साथै सरसफाइबारे जानकारी लिएको थियो ।

टोलीमा संलगन पर्यटन व्यवसायी कृष्ण चौधरीले निकुञ्जभित्रको चुरे पर्वत शृङ्खला एक दिने पदयात्राका लागि प्रख्यात मानिएको बताए । ‘पर्यटकहरूले चुरेमा पदयात्रा गर्दा हिमाल चढेको महसुस गर्छन्’, उनले भने ।

चुरे पर्वत शृङ्खला यात्राका लागि व्यवसायीले प्रतिपर्यटक नेपाली नागरिकलाई एक हजार रूपैयाँ र विदेशी पर्यटकका लागि एक हजार सात रूपैयाँ शुल्क लिने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर