सशस्त्रका बहालवाला र अवकाशप्राप्त वरिष्ठ अधिकृतबीच सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणबारे अन्तर्क्रिया

सशस्त्र प्रहरी बल, नेपालले संगठनका बहालवाला तथा अवकाशप्राप्त वरिष्ठ अधिकृतहरूबीचमा बलको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्थाबारेमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

बलको प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यसप्रकारका छलफल महत्त्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्ति विकासका लागि मार्गदर्शकसमेत हुने बताए ।

सो अवसरमा सीमा सुरक्षा, मानवस्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू क्रमशः नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा वंशीराज दाहालले आ-आफ्नो विभागीय गतिविधि प्रस्तुत गरेका थिए ।

खासगरी सीमा सुरक्षामा बलको भूमिकाका सन्दर्भमा यससँग सम्बन्धित कानुनी प्रावधान, सीमा सुरक्षार्थ प्रविधिकरणका सम्भावना र चुनौती, सीमा व्यवस्थापनमा भएका प्रयासका विषयमा छलफल भएको थियो ।

यसैगरी सुरक्षा निकाय र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीचको सम्बन्ध विकास, सीमा सुरक्षामा अन्तरनिकाय समन्वय र सहयोग, राजस्व चुहावट नियन्त्रणका लागि गर्नुपर्ने प्रयासका विषयमा समेत छलफल केन्द्रित थियो ।

कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिंहबहादुर श्रेष्ठ र पुष्पराम केसीले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरूप लाग्नुपर्ने बताए ।

सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्त्वपूर्ण हुने भएकाले संगठनले सीमाबासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्त्वपूर्ण भएको बताए ।

कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकहरू, नायब महानिरीक्षकहरूले पनि सीमा सुरक्षा र संगठनको बृहतर हितको विषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बलका बहालवाला तथा अवकाशप्राप्त वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *