ग्लोबल आइएमई बैंकको अगुवाइमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ

ग्लोेबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोगबिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।

भिजा स्क्यान टू पे एउटा ‘कार्डदेखि व्यापारी’ भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुंगा साबित हुने बताए ।

उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँ-नयाँ प्रविधिको विकास गरेकोमा बैंकलगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँनयाँ प्रविधिको विकास र विस्तारमा सधै अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरूरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरूरी रहेका बताए ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरूबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए ।

स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए ।

भिजाका नेपाल, बंगलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँ-नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए ।

ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँनयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुसरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका ट्रान्ज्याक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *