धनगढीको अपराजित यात्रामा ब्रेक, झापाको प्लेअफ सम्भावना कायमै

धनगढी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) मा बुधबार झापा एफसीसँग हार व्यहोरेपछि अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा प्लेअफमा स्थान बनाउन संघर्षरत झापासँग २-० को हार व्यहोरेसँगै धनगढीको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

झापाका लागि कप्तान अञ्जन बिष्ट र समिराज थोकरले गोल गरे । यो हारसँगै धनगढीको प्लेअफ यात्रा पनि कठिन बनेको छ । झापाले भने यो जितसँगै प्लेअफ यात्रा जीवन्त राखेको छ । सात खेलमा धनगढी १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ । समान सात खेलमा झापा १० अंकसहित चौथो स्थानमा उक्लियो । अब धनगढीले अन्तिम खेलमा शुक्रवार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्नेछ ।

प्लेअफमा स्थान बनाउन धनगढीले कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्नेछ । यता झापाले भने एफसी चितवनसँग खेल्नेछ । झापाले प्लेअफमा स्थान बनाउन त्यो खेल जित्नैपर्नेछ । त्यसअघि खेलको पहिलो मिनेटमा नै झापाले सुन्दर अवसर सदुपयोग गर्न सकेन ।

होर्गे सान्चेजले १८ यार्ड बक्समा गरेको प्रयास विफल भएको हो । तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीको प्रहार आकासिँदा झापाको खतरा टरेको थियो । छैटौं मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेकले नियन्त्रणमा लिँदै प्रहार गरे पनि झापाका गोलकिपर स्टेफन सुपिचले खतरा टारे ।

२० औं मिनेटमा गोलकिपर कुपिकले पुनः एकपटक टोलीको खतरा टारे । रामचन्द्र वाजीले मध्यभागबाट दिएको पास अघि बढाउँदै हिजाजीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार झापाका गोलकिपर सुपिचले मुस्किलले बचाए । सुपिचबाट रिबाउन्ड आए पनि सुमित श्रेष्ठले क्लियर गरे । दुई मिनेटमा नै धनगढीका कमल श्रेष्ठको फ्रिकिक गोलकिपर सुपिचले मुस्किलले जोगाए । २४ औं मिनेटमा झापाले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । राइट साइडबाट लक्ष्मण रूचालको क्रस सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो ।

झापाका समान्डर ओचिलोभको २९ औं मिनेटमा शसक्त फ्रिकिक पहिलो बार हुँदै बाहिरिए । झापाको अर्को उत्कृष्ट अवसरमा धनगढीका गोलकिपर मोहमद ताहाले पन्च गर्दै रोके । ४१ औं मिनेटमा सान्चेजले पेनाल्टी बक्समा डिफेन्डर देवेन्द्र तामाङलाई बिट गर्दै गरेको शसक्त प्रहार ताहाले उत्कृष्ट बचाउ गरेका हुन् । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो । झापाले ५४ औं मिनेटमा गोल गर्दै अग्रता लियो । छिरिङ लामाले लेफ्ट साइडबाट गरेको क्रस बललाई झापाका कप्तान अञ्जन विष्टले हेडरमार्फत गोल गरे । धनगढीले ७० औं मिनेटमा फोडे फोफनाको हेडरबाट खेलमा फर्किने प्रयास सफल हुन सकेन ।

मिलन राईको क्रसमा फोडेको हेडर झापाका गोलकिपर सुपिचले बाहिर पठाइदिए । झापाले ७७औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पार्‍याे । समिराज थोकरले सान्चेजको पासमा वान टच गर्दै गरेका हुन् । त्यसको दुई मिनेटपछि नै धीरज थतालीले रातो कार्ड खाएपछि झापा १० खेलाडीमा सीमित भयो । साइमन लिम्बूमाथि खराब ट्याकल गरेपछि उनले रातो कार्ड सामना गरेका हुन् ।

इन्जुरी समयको पहिलो मिनेटमा देवेन्द्रको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । त्यसपछि थप गोल हुन नसकेपछि झापाले अपराजित धनगढीमाथि २-० को रबाफिलो जित निकाल्यो । यो नतिजासँगै जारी दोस्रो सिजन सबै टोलीले हार सामना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *