स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएकाे छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएको बताएका छन् ।

ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका-७, सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए ।

उनले भने, ‘मानव जीवनका लागि स्वास्थ्य महत्वपूर्ण विषय हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्ने गरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।’

उपप्रधान तथा रक्षामन्त्रीले ब्याक टु लाइफ संस्था र सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र कर्णालीका विकट जिल्लामा पुगेर मुटुरोगजस्तो संवेदनशील उपचार सेवा निःशुल्क प्रवाह गरेकामा कृतज्ञता व्यक्त गरे । उनले ०७३ देखि निर्माण सुरू गरिएको ५० शय्याको मेहलकुना अस्पताल अहिलेसम्म निर्माण पूरा नभएकामा सम्बन्धित निकायलाई अविलम्ब काम सक्न निर्देशन दिए ।

ब्याक टु लाइफका निमित्त देशीय निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटुरोगको उपचार सेवामा सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा चन्द्रमणि अधिकारीले मुटुरोगीहरूको निःशुल्क उपचार गरिने जटिल रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताए ।

मेहलकुना अस्पतालका प्रमुख डा सोजन सापकोटाले काठमाडौँ पुगेर उपचार गर्न सक्ने अवस्था नभएका मुटुरोगीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्‍याएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर