भारतमा नौमती बाजाको माग बढ्दाे, बाजासहित पुग्छन् महिला

भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक-पटक दार्जिलिङ, सिक्किम पुग्न थालेका छन्। महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरूको मनोबल बढेको छ।

जिल्लामा नौमती घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन्। तीनमध्ये आर्ट स्टुडियो महिला नौमती बाजाको टोली भारतको सिक्किम, दार्जिलिङ र कोलाकता पुग्न थालेको हो।

विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा पछिल्लो समय बाक्लै देख्न पाइन्छ। विर्तामोड-२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो।

पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि उनलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताइन। ‘त्यसबेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे। रूवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै विर्तामोडलगायत झापाका विभिन्न स्थानमा नाटक मञ्चन गरेका थियौँ। पछि उक्त टोली महिला कलाकारका रूपमा परिचित बनेको थियो’, उनले भनिन।

सोही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गरिन। आवश्यक तालिम लिएपछि विर्तामोड वडा नं. २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न डेढ लाख रूपैयाँ बजेट दिएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिइन। उनका अनुसार नमुना कार्य भन्दै कनकाई नगरपालिकाले पनि बाजा खरिदका लागि ३० हजार रूपैयाँ थपिदिएको थियो।

केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो। उनीहरूले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गरेका छन्। पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन्। समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उनले जानकारी दिइन।

विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताइन। उनका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुने छ।एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा दुई लाख रूपैयाँसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिइन।उनका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा १५ हजारदेखि ३० हजार रूपैयाँसम्म शुल्क लिने गरेको छ।

भारतमा भने भारू ५० हजार शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिइन। ‘केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जिलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाउनुभएको थियो। दार्जिलिङबाट कोलकातामा जन्ती जाँदा ५० हजार रूपैयाँ दिने सहमति भएको थियो,’उनले भनिन, ‘हामीले नौमती बजाएको मन पराएर उहाँहरूले भारू डेढ लाख दिनुभयो।’

बाजा बजाउन आमन्त्रण गर्नेहरूले टोली र बाजा बोक्नका लागि गाडी भाडा व्यहोर्ने गरेको विमलीको भनाइ थियो। उनका अनुसार काठमाडौँमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो। ऊबेला बाजा बजाएबापत एक लाख रूपैयाँ शुल्क दिइएको उनले जानकारी दिइन।

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उनीहरुको टोलीलाई निमन्त्रणा गरेका थिए। तामाङले महिलाको नौलो र राम्रो कार्य भनेर प्रशंसा गर्दै भारू एक लाख पुरस्कार दिएका थिए। टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन सुरू गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताइन्। दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफूहरूले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उनले अनुभव सुनाइन्।

‘यस्तो दमाई बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरूले अवहेलना भोग्नुपर्‍याे’, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भनिन्, ‘सुरूमा कसैले पनि साथ दिएनन्। तथापि हामी पछाडि हटेनौँ। अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिक रूपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुसी छन्।’

टोलीका सदस्यहरूले घरको कामधन्दा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन्। दस प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आइएको कोषाध्यक्ष विमलीले बताइन्।

लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेल कार्यक्रममा भ्याइनभ्याइ छ। व्यावसायिक रूपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिक रूपमा पनि प्रशंसा हुन थालेको छ। यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर