पाकिस्तानमा ‘ब्याट’ खोज्दै पीटीआई

जेलमा रहेका इमरान खानको राजनीतिक दल पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिह्न क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरूद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ। पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गरेका हुन्। निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आमनिर्वाचनका लागि पीटीआईलाई चुनाव चिह्न ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ।

पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई कानुनअनुसार शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो। जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिह्न पुनः प्राप्त गर्न पीटीआईको निवेदन मंगलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिनेछ।

निर्वाचन आयोगको नाम नलिइकन पीटीआईका नेताले सबै षड्यन्त्र आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट वञ्चित गर्ने उद्देश्यले गरिएको बताए। उनले निर्वाचन आयोगको पछिल्लो आदेशको पछाडि षडयन्त्र भएको पनि आरोप लगाए।

गोहरले भने, ‘अहिले राष्ट्रियसभाका आरक्षित ७० सिट हामीसँग छन्। पाकिस्तानमा आरक्षित सिटको कुल संख्या २२७ रहेको छ। विधानसभाहरूमा उनीहरूको दलको शक्ति बराबर राष्ट्रिय पार्टीको मान्यताप्राप्त दलले सिटहरू प्राप्त गर्दछन्।’

जियो न्यूजका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र सिनेटका अध्यक्षका लागि हुने निर्वाचनमा आरक्षित सिटमा निर्वाचित सांसदको महत्त्वपूर्ण भूमिका हुन्छ।

‘पाकिस्तानको निर्वाचन आयोगको आदेश विरोधाभासपूर्ण रहेको र दिगो खालको नभएको देखिन्छ,’ पत्रकारको प्रश्नमा गोहरले बताए। उनले अदालतको उक्त आदेशलाई चुनौती दिँदै अदालत गएपछि पीटीआईले अपेक्षित राहत पाउनेमा आफू विश्वस्त रहेको बताए।

पेसाले वकिलसमेत रहेका गोहरले भने, ‘पीटीआईको चुनाव चिहन् पुनः स्थापित गरिनेछ।’ पीटीआई नेताहरू निर्वाचन आयोगको प्रमाणित प्रतिलिपिको पर्खाइमा रहेको बताए। गोहरले पीटीआईले संविधानको धारा १८४ अन्तर्गत ईसीपीको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिन सक्ने बताए।

‘इमरान खान पीटीआईका अध्यक्ष थिए, छन् र हुनेछन्,’ उनले भने।

उनले खानले सुम्पेको जिम्मेवारी मात्र पूरा गरिरहेको बताए। गोहरले पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खान जेलबाट बाहिर नआएसम्म आफ्नो वर्तमान भूमिकामा पार्टीको जिम्मेवारी निर्वाह गरिरहने बताए। गोहरले अन्यायपूर्ण निर्वाचनले देशमा अराजकता र अन्योल निम्त्याउने बताए।

स्रोत : आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर