पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ

म्याग्दीको सदरमुकाम, अरू नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका धेरै पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स-रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

गाउँपालिकाले किसान लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्त्व दिन थालेपछि कृषि उत्पादन पनि बढ्दै गएको छ । छवटै स्थानीय तहममा कृषि उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एक/डेढ दशकअघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता रहेकामा अहिले विकासको पूर्वाधार बढे पनि सुविधाको उपयोग गर्ने जनता भने घट्दै गएका मालिका गाउँपालिका-२ का वडासदस्य भक्तबहादुर पुन बताउँछन् ।

गत वर्ष साउनदेखि चैत मसान्तसम्म जिल्लाका एक हजार ९१ घर परिवार अन्य ठाउँमा बसाइ सरेको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायत ठाउँमा गएका हुन् ।

स्थानीय तहको पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीन सय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ घर परिवार बसाइँसराइ गरेका थिए ।

‘गाउँमा जतिजति विकासका पूर्वाधार थपिदै गए त्यति त्यति बस्ती खाली हुँदै जान थाले, यस्तो अवस्था किन उत्पन्न हुँदैछ भन्ने विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण हुन जरुरी छ’, दरबाङका बालकृष्ण शर्मा भन्छन्, ‘गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । विकास र अवसरलाई सदुपयोग गर्ने युवा छैनन् ।’

सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका-२ स्थित बगरफाँट गाउँको स्थिति यस्तै छ । राजनीति गर्ने नेताहरूदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसको पुर्ख्यौली यो गाउँ अहिले बसाइँसराइका कारण रित्तिँदै जान थालेको छ ।

यहाँका अधिकांश युवा विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवा पनि विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुकसम्म यहाँका युवाको गन्तव्य हुने गरेको छ । गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधार यहाँ उपलब्ध छन् ।

गाउँको शिरानमा जङ्गल, पुछारमा म्याग्दी नदी र बीचमा समथर उर्बर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ । थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ ।

गाउँमा जतिजति विदेशी आम्दानी भित्रिँदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँको यही अवस्था रहेको छ । बगरफाँटका बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाझिँदै गएकामा चिन्तित छन् ।

पशुपालन घट्दै गएको छ । व्यावसायिक रूपमा केही युवाले गरेको कृषि पेसा रहरलाग्दो देखिए पनि उत्पादित कृषि उपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यावसायिक कृषकहरूले बताउन थालेका छन् । वार्षिक करोडौँ रूपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागतअनुसारको मूल्य नपाउँदा कृषक निरास भएका अगुवा कृषक चन्द्रबहादुर कार्की बताउँछन् ।

‘बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ तर यहाँको प्राङ्गारिक उत्पादनलाई व्यापारीले सस्तोमा खोज्छन्’, उनको गुनासो छ ।

बसाइँसराइको मुख्य कारण गाउँमा सुविधाको कमी र अवसरको अभाव नभएर सुखसुविधा र जीवनशैली नै भएको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको भनाइ छ । नेपाल कांग्रेसका जिल्लासचिवसमेत रहेका मीनबहादुर कार्कीले गाउँमा अब अवसरै अवसर र सुविधै सुविधा छ तर ती अवसर र सुविधाभन्दा बढी अवसर र सुविधाको खोजीमा बसाइँसराइ गरी अन्य ठाउँमा जानेक्रम नरोकिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर