प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफको चौथो जित

एपीएफले सोमबार कोशी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ ।

एपीएफले मूलपानीमा कोशीमाथि जित निकाल्दै आफ्नो अपराजित यात्रा चार खेलसम्म पुर्‍याएको हो ।

पहिलो पटक राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा कोशीको भने चौथो खेलमा अपराजित यात्रा रोकिएको छ । कोशीले दिएको ८५ रनको सामान्य लक्ष्य एपिएफले मात्र दुई विकेट गुमाएर १७.३ ओभरमा पूरा गर्‍याे । यससँगै एपीएफका चार खेलबाट चार जितसहित ८ अंकसहित शिर्ष स्थानमा यथावत छ । एपीएफको जितमा इन्दु बर्माले सर्वाधिक ३६ रनको अविजित इनिङ खेलिन् । उनले ३४ बलमा समान दुई चौका र छक्का हिर्काइन् । रोमा थापा १० रनमा अविजित रहिन् ।

कप्तान सीता रानामगरले १८ रन र ज्योति पाण्डेले २४ रनको योगदान दिए । कोशीका बलरले कसिलो बलिङ गर्ने प्रयास गरे पनि जित निकाल्न सकेनन् । कोशीकी बलर सबनम राई चार ओभरमा दुई मेडनसहित ९ रन मात्र खर्चे पनि विकेटविहीन रहिन् । निशा साह र एलिसा खडियाले समान एक-एक विकेट निकाले । त्यसअघि कोशीले २० ओभरमा दुई विकेट मात्र गुमाए पनि सुस्त ब्याटिङ गर्‍याे । कप्तान रूविना क्षेत्रीले ५८ बलमा ६ चौकासहित ४१ रन जोडिन् । काजोल श्रेष्ठले ४६ बलमा २५ रन र अप्सरी बेगमले १५ बलमा १३ रन जोडे ।

सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशमाथि ६ विकेटको जित निकाल्यो । चार खेलबाट सुदूरपश्चिमको यो तेस्रो जित हो । सुदूरपश्चिमले पनि एपीएफसँग हार व्यहोरेको थियो । बागमतीले दिएको ८८ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र चार विकेटको क्षतिमा १९ औं ओभरमा पूरा गर्‍याे । विन्दु रावलले २८ रन र कविता जोशीले अविजित २७ रनको इनिङ खेल्दै जित दिलाए । बागमतीका अस्मिना कर्मचार्य र सोनी पाख्रिनले समान एक विकेट लिँदा सुदूरपश्चिमले दुई विकेट रनआउटका रूपमा गुमाउन पुग्यो ।

त्यसअघि बागमतीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ८७ रनको योगफल बनायो । कञ्चन श्रेष्ठले सर्वाधिक १९ रन जोड्दा हेलिशा गुरूङ १६ रन र सोनीले १३ रनको योगदान दिए ।

त्यसअघि मधेसले गण्डकी र लुम्बिनीले कर्णाली प्रदेशलाई हराए । पूजा महतोको अलराउण्डर प्रदर्शनमा मधेसले गण्डकीलाई २७ रनले स्तब्ध बनाउँदै चार खेलबाट दुई अंक जोड्यो । तेस्रो हार व्यहोरेको गण्डकीको पनि समान खेलबाट दुई अंक नै छ । मूलपानी क्रिकेट मैदानमा एक सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटियो ।

गण्डकीका लागि सुमन खतिवडाले ४२ र सृष्टि जैसीले १५ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेसका लागि पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कप्तान कविता गौलमा र साक्षी यादवले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १२ रनको योगफल बनाएको थियो । पूजाले ३८, सरस्वतीकुमारी चौधरीले अविजित २६ र प्रतिमा शाहले १० रन बनाए । गण्डकीका लागि सुमन खतिवडाले तीन तथा कुशुम गोदार र सृष्टि जैसीले समान एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले कर्णालीमाथि ३० रनको जितसँगै चार खेलबाट चार अंक जोड्यो । कर्णाली भने चार खेलमा अंकविहीन छ । लुम्बिनीले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले २२, यमुना थारूले २१, अञ्जु गुरूङले अविजित १३ र रश्मि खड्काले अविजित ११ रन बनाए । लुम्बिनीका लागि सरस्वती पुन र कृतिका मरासिनीले समान दुई-दुई तथा चमेली चौधरी र शर्मीला रोक्काले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योगलफल बनायो । लुम्बिनीकी कप्तान सरस्वती घर्तीमगरले ६२ बलमा सात चौकाको मद्दतले अविजित ५३ रनको योगदान गरिन् । आस्मा पुलामीमगरले २५ र चमेली चौधरीले १८ रन बनाए । कर्णालीका लागि यमुना थारू, रश्मि खड्का र तिर्सना विश्वकर्माले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर