तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

तनहुँमा मंगलबार बिहान जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

बिहान ४ बजे आँबुखैरेनी गाउँपालिका-४, पावरहाउसस्थित पृथ्वी राजमार्ग सडकखण्डमा आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको बा १७ च ७९६० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।

दुर्घटनामा जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय दयाराम राना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ बस्ने २८ वर्षीय थानेश्वर भट्टराई, सोही नगरपालिका-९ बस्ने २८ वर्षीय निबस खत्री, दार्चुलाको महाकाली नगरपालिका-५ बस्ने २४ वर्षीय राकेश भट्ट र कैलालीको गोदावरी नगरपालिका-३ बस्ने ३० वर्षीय खगेन्द्रराज पनेरू घाइते भएका छन्।

घाइतेहरूलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोली र कालिभन्जन गण (ई) सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्।

घाइतेमध्ये खगेन्द्रराज पनेरूको पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा र अन्यको आँबुखैरेनी अस्पताल, तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर