तथ्यांकले भन्छ- अर्थतन्त्र सुधारको सरकारी दाबी असत्य हाे

सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सिएनआई) ले गरेको सर्वेक्षणले तीन वर्षको तुलना गर्दा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा उद्योगहरूको समग्र मागमा ३६.९३ प्रतिशतले संकुचन आएको देखाएको छ।

सिएनआईले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार अर्थतन्त्र अझै मन्दीमा रहेको देखाउँछ। आव २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ।

विदेशी मुद्राको सञ्चिती, रेमिट्यान्स र पर्यटक आगमनमा वृद्धि भए पनि आन्तरिक बजारले अर्थतन्त्रका आन्तरिक सूचकमा अपेक्षित सुधार हुन नसकेको अध्ययनले देखाएको छ।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार आए पनि अर्थतन्त्र अझै समस्यामा रहेको सर्वेक्षणले देखाएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए। ‘अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार देखिएन,’ अग्रवालले भने, ‘बजारको मागको माग सुधार नआउँदा उत्पादनमा संकुचन आयो।’ परिसंघले आन्तरिक उत्पादनको अध्ययन गरेको हो। यहाँ प्रयोग हुने वस्तु स्वदेशी उत्पादन मात्र नभएर विदेशबाट पनि आयात हुन्छ। विदेशबाट आयात हुने वस्तुमा पनि गिरावट नै छ।

पोहोरको तुलनामा यो वर्षको मंसिरसम्म आयातमा ३.३९ प्रतिशतले गिरावट छ भने निर्यातमा पनि ६.०९ प्रतिशतले कमी आएको छ। उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकामा चालु आवको सोही अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ। आव २०७८/७९ को तुलनामा कुल कारोबार ३०.५४ प्रतिशतले खुम्चिएको छ। अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको अध्यक्ष अग्रवालले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर