बिहीबार नेपाल आउँदै छन् भारतीय विदेशमन्त्री जयशंकर, यी हुन् भ्रमणका एजेण्डा

भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार नेपाल आउँदै छन्। नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले जयशंकरको नेपाल भ्रमणबारे विज्ञप्ति निकालेर औपाचारिक जानकारी गराएका छन्।

जयशंकर आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।

विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गर्ने छिन्।

जयशंकरको नेपाल भ्रमणको मुख्य उद्देश्य भनेको नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुनु हो। यस संयन्त्रलाई दुई देशको सम्बन्ध र सहकार्यको व्याख्या गर्ने सम्पूर्ण म्यान्डेट दिइएको हुन्छ।

संयुक्त आयोगको बैठक बिहीबार नै सुरू भएर शुक्रबार सकिने छ। बैठकको नेतृत्व नेपालका तर्फबाट मन्त्री साउद र भारतका तर्फबाट जयशंकरले गर्ने छन्।

बिहीबार दिउँसो होटल याक एन्ड यतीमा बैठक बस्ने तय भएको छ, जहाँ दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ। भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता पनि यसमा समावेश छ।

यस्तै बिहीबार दिउँसो २ बजे समकक्षी जयशंकरका लागि परराष्ट्रमन्त्री साउदले डिनर कार्यक्रम राखेका छन्।

विदेशमन्त्री जयशंकरले यहाँ रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै राजनीतिक दलका प्रमुखहरूसँग पनि भेट गर्ने कार्यक्रम छ।

उनी शुक्रबार दिल्ली फिर्ता हुने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर