ग्लोबल आइएमई बैंकको १७ औं वार्षिकोत्सवमा २५३ कर्मचारी सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ जना कर्मचारीहरूलाई सम्मान गरेको छ ।

बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्तिभन्दा मिहिनेत र लगनशीलतामा जोड दिन कर्मचारीहरूलाई आग्रह गरे ।

कर्मचारीको अथक मिहिनेत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्‍याएको योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गरे ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

बैंकका वरिष्ठ नायब प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *