राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुने भएकाे छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन्। यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक भएको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

निर्वाचन आयोगले यसअघि स्वीकृत गरेको नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या २ हजार ४७ जना छन्। जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन्।

प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको हो। यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको थियो।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ। प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ।

प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ। राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पदाधवधि सकिँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर