विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

भौगोलिक कठिनाइ, सडक, खानेपानीलगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन् । दोर्दीको विकट गाउँमा ५० वर्षदेखि शिक्षाको उज्यालो छरिरहेको बालकल्याण माध्यमिक विद्यालय यसकै एक उदाहरण हो ।

अघिल्लो पुस्ताको त्याग र मेहनतको जगमा उभिएको सो विद्यालयले अहिले शैक्षिक तथा भौतिक सुधारमा फड्को मारेको छ । चिटिक्क विद्यालय भवन, सिकाइमैत्री वातावरण, अध्यापनमा समर्पित शिक्षक, जिज्ञासु र अनुशासित विद्यार्थी, जागरुक अभिभावक तथा विद्यालयप्रतिको सामाजिक एकताले बालकल्याण मावि सिँगारिएको छ ।

विसं २०३० मा बोधलाल श्रेष्ठ, कामराम गुरुङ र चेष्टनारायण गुरुङले सो विद्यालय स्थापनामा अगुवाइ गरेका थिए। दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिलबहादुर घलेले बालकल्याण माविलाई गाउँको चेतनाको धरोहरका रूपमा चिनाए । दोर्दी करिडोरको अगुवा विद्यालय हो यो, भौगोलिक हिसाबले पछाडि परे पनि यहाँको शैक्षिक उन्नयनमा बालकल्याण माविको महत्त्वपूर्ण योगदान छ, उनले भने ।

उक्त विद्यालयमा फलेनीसहित ढोडेनी र बन्सर क्षेत्रका बालबालिका अध्ययनका लागि आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेका अनुसार अहिले दुई सय पाँच विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । गुणस्तरीय सिकाइका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, पुस्तकालय, बालविकास केन्द्र आदि सञ्चालनमा रहेको प्रअ घिमिरेले बताए ।

विद्यालयले कक्षा १० का विद्यार्थीका लागि आवासीयरूपमा पठनपाठन गर्ने व्यवस्था मिलाएको उनले उल्लेख गरे ।

कक्षाकोठामा अधिकतमरूपमा शैक्षिक सामग्रीको प्रयोग गर्दै विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक सिकाइ अभ्यासमा जोड दिइएको उनले बताए । छिट्टै अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजनामा छौँ, तर त्योभन्दा पहिले तल्लो तहका विद्यार्थीलाई नेपाली भाषामै परिपक्व बनाउनुपर्ने आवश्यकता छ, प्रअ घिमिरले भने, कक्षा १० र ८ कक्षामा पूर्वपरीक्षा लिने गरिएको छ, विद्यार्थीलाई नियमित विद्यालय ल्याउन हेलो अभिभावक कार्यक्रम सञ्चालन भइरहेको छ ।

भौगोलिक विकटता र छरिएर रहेका बस्ती भएका कारण कक्षा ९ र १० मा पढ्ने कतिपय विद्यार्थी घण्टौँ लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेको वडा नं ७ का वडाध्यक्ष रीसमाया गुरुङले बताउनुभयो । लप्सीबोट, दैलुङ, नागी, सिमलगायत गाउँबाट एक–डेढ घण्टा पैदल हिँडेर विद्यार्थी बालकल्याण माविमा आउने गरेको उनको भनाइ छ ।

टाढाबाट आउने विद्यार्थीका लागि विद्यालयले गाडीको व्यवस्था गर्नसके धेरै सहज हुने थियो, यसमा हामीले पहल गर्छौँ, गाउँपालिकामा पनि यो कुरा उठाउँछौँ, वडाध्यक्ष गुरुङले भने गाउँलेकै योगदान र पहलबाट यो विद्यालय यहाँसम्म आइपुगेको हो, भवनलगायत पूर्वाधारमा राज्यको पनि ठूलो लगानी परेको छ ।

विद्यालयसम्म जोड्ने सडक स्तरीय नहुँदा यातायात सञ्चालनमा पनि कठिनाइ रहेको उनको भनाइ छ । वडाको थोरै बजेटले पूर्वाधार विकासका काम गर्न नसकिने भन्दै वडाध्यक्षले गुरुङले त्यस क्षेत्रमा सडक र खानेपानीको सुविधाका प्रदेश र सङ्घ सरकारको बजेट चाहिने उल्लेख गरे ।

विद्यालयकै शैक्षिक विकासका लागि ‘बालकल्याण मावि स्वर्ण अक्षयकोष’ स्थापना गरिएको प्रज घिमिरेले जानकारी दिए । यही पुस ९ देखि १४ गतेसम्म चलेको विद्यालयको ५०औँ वार्षिकोत्सव एवं स्वर्ण महोत्सवका अवसरमा उक्त अक्षयकोषमा रु ४३ लाख ५० हजार सङ्कलन भएको उनले बताए । अक्षयकोष स्थापनार्थ सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा स्थानीय दाताबाट सो रकम जुटेको हो । सबैभन्दा बढी दोर्दी–८ बन्सरका खर्ब तामाङले रु तीन लाख प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायतका योजना अगाडि बढाएको छ ।

विद्यालयमा प्रावि तहमा नौ स्थायी, निमाविमा चार स्थायी र मावि अनुदानमा दुई शिक्षक, एक लेखापाल, कार्यालय सहयोगीलगायत गरी १९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । शिक्षकको तलब सुविधामा विद्यालयलाई आन्तरिक स्रोतबाट रकम जुटाउनुपर्ने स्थिति छैन । तलब, भत्ता सबै राज्यकोषबाट प्राप्त हुने गरेको प्रअ घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *