नेपाल-भारत ऊर्जासचिवस्तरीय संयुक्त सञ्चालक समितिको बैठक : यी विषयमा भए छलफल र निर्णय

नेपाल र भारतका ऊर्जासचिवको सहअध्यक्षतामा शुक्रबार ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त सञ्चालक समितिको ११ औं बैठक चितवनमा सम्पन्न भयो । बैठकको नेपालका ऊर्जासचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जासचिव पंकज अग्रवालले सहअध्यक्षता गरेका थिए ।

बिहीबार भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि बसेको हो । यसअघि बुधबार भारतको ऊर्जासहसहिचव डा. डी साई बाबा र नेपालका ऊर्जासहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी ११ औं संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।

यी बैठकहरूमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यलगायतका विषयमा विस्तृत समीक्षा भएको थियो । संयुक्त प्राविधिक टोली (जेटीटी) लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल भएको थियो ।

बैठकमा १३२ केभी र त्यसभनदा मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत गरियो ।

भारतका विदेशमन्त्री डा. एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार विशेष महत्त्व रहेका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटनन गरेका थिए, जसमा रक्सौल (बिहार, भारत)-परवानीपुर (नेपाल) को दोस्रो सर्किट, कटैया (बिहार, भारत)-कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तर प्रदेश, भारत)-मैनहिया (नेपाल) रहेका छन् ।

करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्‍याउनेछ । त्यस्तै नयाँ नौतनवा-मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन रहेको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणमा जारी गरिएको भारत-नेपाल संयुक्त दृष्टिकोणपत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक छिट्टै बोलाउन सहमत भएका छन् ।

संयुक्त सञ्चालक समितिको बैठक हुनुअघि भारतका ऊर्जासचिव पंकज अग्रवालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका थिए ।

दुवै पक्षले यस विषयमा छलफल जारी राख्न सहमति जनाउँदै भारतीय पक्षले आयोजना गर्ने संयुक्त कार्यदल/संयुक्त सञ्चालक समिति बैठकको अर्को सत्रका लागि चाँडै भेट्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर