राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सोमबार

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि (साेमबार) उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ ।

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

उक्त निर्वाचनका लागि आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।

उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाताको नामावली प्रकाशित तथा दाबी विरोधलगायतका कार्य पूरा भई आजै मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ ।

उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न भने यही पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।

यस निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुईवटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ ।

माथिल्लो सदनका रूपमा रहेको प्रबुद्ध समूहको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्ष हुन्छ । अघिल्ला वर्षमा जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *