नेपालमा चिनियाँ परियोजना बीआरआई खारेज गर्न माग

राष्ट्रिय एकता अभियानले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनका लागि नेपालले गरेको सम्झौता खारेज गर्न माग गरेको छ ।

सुनसरीको इनरूवामा अभियानले आयोजना गरेको ‘राष्ट्रिय स्वाधीनता, बीआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ विषयक अन्तर्क्रिया कार्यक्रममा बीआरआई खारेज गर्नुपर्ने माग उठेको हो ।

यो परियोजना नेपालको राष्ट्रिय हितमा नरहेको र यस परियोजना कार्यान्वयन गरेका देशहरूको अवस्थाले यस कुरालाई पुष्टि गरिसकेको भन्दै नेपालले सम्झौता खारेज गर्नुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

वर्षाैंअघि परियाेजनाका लागि सम्झाैता भए पनि हालसम्म याे परियाेजना नेपालमा कार्यान्वयन भने भएकाे छैन ।

कार्यक्रममा इनरूवाकी समाजसेवी लक्ष्मी साह, राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादव, अभियानका वरिष्ठ नेता तथा सभासद बीपी यादव, अभियानका प्रवक्ता जीवन साह, सभासद ललिता साह, गायक ज्योतन मेहता र प्राध्यापक कुञ्ज्यालाल यादवलगायत उपस्थित थिए ।

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्त्व, देशको आर्थिक दुर्गतिमा बीआरआई कार्यान्वयनपछि सम्भावित ‘ऋणजाल’ को नेपालमा पर्ने दुरगामी असर र चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा अभियानका केन्द्रीय संयोजक यादवले नेपालको चीनबाट नेपालको स्वतन्त्रता रक्षा गर्न आवश्यक रहेको बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीनसँग नेपालले लिएको ऋण भविष्यमा नेपालको सार्वभौमसत्तामा चुनौती बन्ने खतरा औंल्याए ।

कार्यक्रमका अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँगको बीआरआई सम्झौता खारेज गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *