आर्थिक वर्षकाे पहिलो तीन महिनामा ३.२ प्रतिशतले बढ्यो जीडीपी

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जीडीपी वृद्धिदर खुम्चिएको हो ।

‘आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ,’ तथ्याङ्क कार्यालयले भनेको छ ।

उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५ दशमलव आठ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । यसैगरी निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खननको मूल्य अभिवृद्धि ११ दशमलव चार प्रतिशतले बढेको छ ।

वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३ दशमलव दुई प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११ दशमलव सात प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक देखिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर एक दशमलव चार प्रतिशत हुने अनुमान गरिएको छ । धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालु आवको पहिलो त्रैमासिक अवधिमा एक दशमलव दुई प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर