राम मन्दिर प्राणप्रतिष्ठा : आज कपिलवस्तु र रुपन्देहीका पालिकामा बिदा

सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।

कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु,शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन । अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ ।

उनीहरूले अलग अलग सूचना जारी गर्दै उक्त दिन पालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द रहने जनाएका छन् । नेपाली चेली सीताको विवाह भगवान् रामसँग भएको नाताले आफूहरूले सो दिन स्थानीय बिदा दिइएको पालिका प्रमुखहरूको भनाइ छ । उक्त दिन पालिका भित्र रहेका राम मन्दिरमा पूजापाठसमेत कार्यक्रम गरिने उनीहरूको भनाइ छ ।

त्यसै सन्दर्भमा आइतबार जिल्लाको दक्षिणी क्षेत्रका पालिकाभित्र रहेका राम मन्दिरहरुमा दीप प्रज्वलन भजन कीर्तनका कार्यक्रम गरिएको छ । राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन जिल्लाबाट भक्तजनहरू अयोध्यासम्म पैदल यात्रामा निस्केका छन् ।

यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि पालिकामा स्थानीय बिदा दिएको छ ।

सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरूमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरूमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् । साथै गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर