मेलम्चीकाे बाढीले प्रतिघरधुरी ७० लाख रूपैयाँ क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

मेलम्चीमा २०७८ सालको बाढी र पहिरोले एक घरधुरी बराबर करिब ७० लाख रूपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।

वातावरणविद् प्रवीणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो ।

सोमवार काठमाडौंमा आयोजित तथ्यांक सार्वजनिक कार्यक्रममा अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १२० घरधुरी सर्वेक्षण, दुईवटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिन सक्ने व्यक्तिहरूसँग सूचना संकलन गरेर रिपोर्ट तयार पारेको बताए ।

‘मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको तथ्यांक तथा पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी औसतमा ७० लाख रूपैयाँ बराबरको आर्थिक हानिनोक्सानी भएको पाइएको छ,’ उनले भने । उनका अनुसार अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो ।

गैरआर्थिक हानिनोक्सानी तथ्यांक यसमा समेटिएको छैन । बाढीले प्रत्यक्ष हानिनोक्सानीभन्दा बढी गैरआर्थिक हानिनोक्सानी गरेको उनले बताए । अध्ययनले बाढी पहिरोबाट प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा मनोसामाजिक समस्या पनि देखिएको पराजुलीको भनाइ छ ।

कार्यक्रममा वातावरणविद् प्रवीणमान सिंहले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको दाबी गरे । यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको जानकारी पनि उनले दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरूले घरधुरीका आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताए । उनले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई लालपुर्जाका आधारमा प्रतिघरधुरी १० हजार रूपैयाँका दरले राहत उपलब्ध गराएको पनि बताए ।

मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर