निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च छ : परराष्ट्रमन्त्री साउद

'नेपालको परराष्ट्रनीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा छैन'

परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताएका छन्। उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए।

साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरवलोकनका लागि काठमाडौंमा सुरू भएको एसिया प्रशान्त क्षेत्रको तीनदिने तयारी बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन्।

नेपाल सरकार र शान्ति एवम् निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरू भएको तयारी बैठकमा उनले साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनुपर्नेमा पनि जोड दिए।

‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनुपर्दछ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘यसका लागि क्षेत्रीय एवम् आन्तर्राष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनु पर्दछ।’

हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमनचयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकारात्मक प्रभाव पर्न जाने उनको भनाइ थियो।

निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरू सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्रनीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहोर्‍याए। बुद्धको जन्मस्थान, शान्तिभूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाइ थियो।

साना हतियारको अवैध व्यापार नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयासहरू भए पनि अवैध हतियारको ओसारपसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको पनि मन्त्री साउदले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *