राजेन्द्र लिङ्देनको आरोप- क्षेत्री-बाहुनका कारण नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो

'हिन्दु अधिराज्य र राजा स्विकार्ने भए कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार छ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्षेत्री-बाहुनका कारण नेपाल धर्मनिरपेक्ष बनेको आरोप लगाएका छन्।

मंगलवार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश धर्मनिरपेक्ष बन्नुमा कम्युनिष्ट, कांग्रेसलगायतका पार्टी र यसका नेताहरूभन्दा बढी दोषी क्षेत्री-बाहुन र आफूलाई हिन्दु भन्नेहरू नै रहेको जिकिर गरे।

उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको नारा जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए। उनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे।

अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामा मात्रैमा सिमित हुने बताए। उनले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरूलाई जिताउन आवश्यक रहेको बताए।

‘नेपाललाई धर्मनिरपेक्ष बनाउन जति पार्टी र नेताहरू दोषी छन्, जति विदेशीहरू दोषी छन्, त्योभन्दा हामी हिन्दु हौं भनेर ती पार्टीहरूलाई भोट दिने तपाईंहरूको हात कम दोषी छैन। जबसम्म मत परिवर्तन गर्नुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारा मात्रै हुन्छ,’ लिङ्देनले भने, ‘वास्तवमा यो देशमा धर्मनिरपेक्षता आउनुमा कांग्रेस, कम्युनिष्ट यी अरू पार्टी कसैलाई दोष दिनुभन्दा पनि क्षेत्री-बाहुनको हात दोषी छ। आफूहरूलाई हिन्दु हौं भन्नेहरूको हात दोषी छ। मलाई यो भन्नुमा कुनै आपत्ति छैन।’

अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाहेर मात्रै धर्मनिरपेक्षता नआएको बताए। उनले धर्मनिरपेक्ष बनाउनुमा दाहालभन्दा बढी दोषी नेपाली कांग्रेस रहेको बताए।

उनले हिन्दु अधिराज्य स्विकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताए।

‘काँग्रेस भन्ने पार्टी राप्रपालाई अछुतजस्तो व्यवहार गर्छ अनि हामी उसको भैया पार्टी भएर जान्छौं त? हिन्दु अधिराज्य मानौं, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔं, प्रदेश खारेज गरौं,’ उनले भने, ‘बाक्लो जनप्रतिनिधि घटाऔं, न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔं। कांग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *