नेपालमा मनाइयो भारतको ७५ औं गणतन्त्र दिवस

नेपालमा भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासमा शुक्रवार विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको सुरूआत गरेका थिए । सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गरे ।

सोपश्चात् कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवसयता विभिन्न क्षेत्रमा भारतले हासिल गरेका उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी-२० शिखर सम्मेलन र चन्द्रयान-३ मिसनबारे चर्चा गरिन् ।

कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५.०७ करोड रूपैयाँ नगद तथा कम्बल वितरण गरी सम्मान गरे । सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको ‘भूपू-२०२४’ पत्रिकाको लोकार्पण गर्‍याे ।

राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरूलाई उपहारस्वरूप पुस्तक प्रदान गरे । दूतावासले भारतको ७५ औं गणतन्त्र दिवसका अवसरमा ३० वटा संस्थालाई १९ लाख रूपैयाँ बराबरको पुस्तक उपहारस्वरूप वितरण गर्दैछ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *