जनताका गुनासो सुन्दै महामन्त्री थापा

समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ। स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले शनिबारदेखि यो अभियान सुरु गरेको हो।

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका हुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेतृत्वको टोली जहदाको राम चोक, कटाहरीहुँदै विराटनगर आइपुगेको हो। शनिबार झापाबाट अभियानको सुरुआतका क्रममा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सांसद प्रदीप पौडेल पनि सहभागी रहेका थिए।

उक्त अभियानमा आज नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीलगायतको सहभागिका रहेको छ। यो अभियानबाट पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीतिनिर्माणका क्रममा नीतिगत मार्गदर्शन प्राप्त हुने बताइएको छ। यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिएको छ।

आजको मोरङको कार्यक्रममा पनि महामन्त्री थापाले सबै कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गरेका थिए। उनले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घरघरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर