वामदेव गौतम भन्छन् : नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ

राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन्।

सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०/६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताए।

सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘हामीले तुरुन्तै रोजगारी दिने क्षेत्र भनेको त्यही कृषि हो। यसबाट हामीले अहिले भर्खरै ६० लाखलाई रोजगारी दिनसक्छौं। मैले लामो समयदेखि यो कृषि क्षेत्रमा काम गरेको हुनाले हामीले अहिले भर्खरै ६० लाखलाई योजनावद्ध रुपले रोजगारी दिनसक्छौं। र त्यसबाट महिनामा कमसेकम ५०/६० हजारको दरले हरेकले उत्पादन, आम्दानी गर्न सक्नेगरी विकास गर्न सकिन्छ। तर त्यतातिर ध्यान गएको छैन। अब कृषि क्षेत्रलाई धान मात्रै होइन, दुध उत्पादन हामीले नै गर्ने, अण्डा उत्पादन हामीले नै गर्ने, मासु, माछा हामी आफैले उत्पादन गर्ने, फलफूले आफैंले उत्पादन गर्न सकिन्छ। त्यो थलो हामीसित छ। हामीसँग जस्तोसुकै संसारमा उत्पादन हुनसक्ने त्यो क्षेत्र हामीसँग छ। यस्तो वातावरण संसारमा कहीँ पनि छैन। त्यस्तो अवस्था छ। यो क्षेत्रमा हामीले योजनावद्ध रुपले जाऔं। यदि त्यसो गर्नसक्ने हो भने हामीले चाँडै नै परिवर्तन गर्नसक्छौ। एउटा उलटफेर चाहीँ गराई दिनसक्छौं। र, विदेश फौजमा भर्ना हुनै नपाउने अवस्था गराई दिउँ। केही त डलरका लागि पनि बाहिर जानै पर्यो। तर उनीहरुलाई पनि तालिम दिएर, उच्च तलवमानमा पठाउने गरौं। २०/३० हजार नेपाली रुपैयाँ पाउने गरी जाने होइन। कम्तिमा एक लाख मासिक पाउने ठाउँमा हामीले पठाऔं। यस्तो नीतिको आधारमा हामी जान पर्यो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *