चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्टकी मुख्य निर्देशक सिच्याङ नेपालबाट निष्काशित

चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ नेपालबाट डिपोर्ट भएकी छिन्। उनी अवैध रूपमा नेपाल बसेको पुष्टी भएसँगै डिपोर्ट भएकी हुन्।

जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा कुटिएकी भनिएकी मुख्य निर्देशक सिच्याङलाई भिसाको म्याद थप नगरि नेपाल बसेको पाइएपछि अध्यागमन विभागले उनको भिसा सकिएर पनि नेपालमै रहेको भन्दै मंसिर अन्तिम साता गृह मन्त्रालयलाई पत्र पठाएको थियो। विभागको पत्रानुसार गृह मन्त्रालयले पनि सिच्याङलाई नेपालबाट निष्काशन गर्ने निर्णय गरेको थियो।

उनलाई अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तिरेर नेपालबाट निष्काशित गरिएको अध्यागमन स्रोतले जनाएको छ।

अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दहालले यसवर्ष ४ सय ५८ जना डिपोर्ट भइसकेको बताए। उनले पर्दाफाससँग भने, ‘उहाँ कहाँ कार्यरत‍ हुनुहुन्छ हामीसँग रेकर्ड त हुँदैन। तर उहाँको नाम र पासपोर्ट नम्बरअनुसार हामीले मंसिर २८ गते डिपोर्टका लागि गृहमन्त्रालयलाई सिफारिस गरेका थियौँ। मन्त्रालयले पुष २ गते डिपोर्टका लागि निर्णय गरेको थियो।’

यस्तै, सूचना अधिकारी दहालले सिच्याङलाई अध्यागम नियमअनुसार १५ हजार जरिवना गरिएको बताए।

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्प प्रभावितलाई राहतका लागि माओवादी केन्द्रका महासचिव देव गुरुङले सिच्याङ नेतृत्वको चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्टको राहत सामाग्री लिएर मंसिर दोश्रो साता जाजरकोट पुगेका थिए।

उक्त राहत सामाग्री निरीक्षण र अवलोकनका लागि पुगेकी मुख्य निर्देशक सिच्याङमाथि मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीको समूहले कुटपिट गरेको आरोप लागेको थियो। चिनिया टोलीले पनि केसीसहित ३ जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरीसमेत दिएको थियो।

उजुरीसँगै माओवादी केन्द्रले पनि केसीलाई स्पष्टीकरण सोधेको थियो। सो स्पष्टीकरणको जवाफ दिँदै केसीले उल्टै पार्टी महासचिव गुरूङले स्पष्टीकरण दिनुपर्ने अडान राखेका थिए।

महासचिव गुरूङले जनतासँग २३ हजार बराबरको राहत दिने घोषणा गरेको तर जनताले किन नपाएको भन्दै जवाफ फर्काएका थिए। उनले उल्टै महासचिव गुरुङले अनियमितता गरेको बताउँदै छानबिनको मागसमेत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *