बुवा मेयर भएको पालिकामा छोरा हाकिम र भतिजो इन्जिनियरको राज : यसरी गर्छन् ‘अनियमित’ काम

दार्चुलाको शैल्यशिखर नगरपालिकाका तत्कालिन हाकिम सुरेन्द्रबहादुर बिष्ट निलम्बनमा परेको लामो समयपछि नगरपालिकाले त्यहाँ नयाँ हाकिम पायो।

लामो समयसम्म हाकिम नपाएको मारमा परेको शैल्यशिखरले विभिन्न रस्साकस्सीपछि शैल्यशिखरकै छिमेकि नौगाड गाउँपालिकामा हाकिम रहेको पुष्करसिंह धामीलाई नौगाडसहित शैल्यशिखर दुईटै पालिका हेर्ने गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २ गते पत्र काट्दै जिम्मेवारी तोकिदियो।

असोज २ गते मन्त्रालयले जिम्मेवारी दिएपनि हाकिम धामीभने १४ गते मात्रै पालिकाको कार्यभार सम्हाले। लामो समयदेखि शैल्यशिखरको जिम्मेवारी सम्हाल्नका लागि प्रयासरत धामी अन्तत:दुई पालिका हेर्ने हाकिम बने।

उनी शैल्यशखिर आउनैपर्ने चाँसोको विषय थियो, एमालेबाट निर्वाचित मेयर आफ्नै बुवा हुनु।

मेयर तथा हाकिमका बुवा विजयसिंह धामी गत स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उसो त हाकिम धामीसँग अधिकृतमा नाम निकाल्नु अगाडि नायब सुब्बा पदमा शैल्यशिखमै बसेर लामो समय काम गरेको अनुभवपनि छ।

पालिकामा आफू निर्वाचित भएर आएपछि मेयर धामीलेपनि आफू निकट कार्यकर्ताहरूलाई करारमा कर्मचारी भर्ना गरेर आफूलाई चुनाव जिताउनका लागि लगाएको गुनको बदला फर्काए। त्यसको एउटा उदाहरण हुन्, इन्जिनियर भतिजो योगशसिंह धामी। फलस्वरूप पालिकाले विकास निर्माणको काममा गति लिनु भन्दापनि त्यहाँ रहेका स्थायी कर्मचारीहरू करार कर्मचारीको मारमा परिरहेका छन्।

मेयर निकट मानिने करारका कर्मचारीहरू हाकिम मेयरकै छोरा आएपछि उनीहरूको रजगज बढेको छ। ती करारका कर्मचारीहरूले जस्तोसुकै फर्जि बिल/भुक्तानीका लागि आवश्यक प्रमाण नपुगेका/शंकास्पद बिलहरूलाई पनि नहेरर नै हाकिमले सिधैं लेखा शाखालाई भुक्तानीका लागि तोक ठोक्ने गरेको पाइएको छ।

उनले यतिसम्मको बिल भुक्तानीका लागि लेखा शाखालाई तोक ठोकेका छन् की कार्यालयको काम हो की अन्य काम हो के हो? केही नहेरी सिधैं यो शिर्षकबाट भुक्तानीका लागि लेखा शाखालाई तोक ठोकेका कागजपत्रहरू पर्दाफासलाई प्राप्त भएको छ।

हाकिम धामीले यतिसम्म लापरवाही गरेका छन् की एउटा भुक्तानीको लागि कुनै पसलको १२८ नम्बरको बिल कात्तिक २८ गते काटिएको छभने सोही पसलको १२९ नम्बरको बिल कात्तिक १ गते काटिएको छ। हाकिम धामीले त्यतिपनि छड्के नहेरेर सिधैं बिल प्रमाणित गरिदिएका छन्। करारमा कर्मचारी रहेको भाइको बिल भुक्तानीका लागि हाकिम धामीले सो बिल प्रमाणित गरेको देखिन्छ।

उक्त बिल शंकास्पद लाग्दा लेखापाल विजय बिष्टले फर्काइदिएपछि ती मेयरका भतिजो र हाकिमका भाइपर्ने करार कर्मचारीले लेखापाललाई नै धम्क्याइका थिए। त्यसबारेमा पर्दाफासले मंगलबार समाचारपनि प्रकाशित गरेको थियो। यो केवल एक उदाहरण हो यस्ता थुप्रै प्रमाणहरू पर्दाफासलाई प्राप्त भएका छन्। क्रमश: प्रकाशित हुँदै जानेछन्।

सम्बन्धित समाचार :

शैल्यशिखरका ‘दादागिरी’वाला इन्जिनियर धामी, यसरी धम्क्याएर काम गराउछन्

यसरी मेयर बुवा भएको ठाउँमा छोरा हाकिम भएर आउनु गम्भीर विषय भएको कानून व्यवसायीहरूको राय रहेको छ। अधिवक्ता बिरभद्र जोशीले मेयर बुवा भएको ठाउँमा छोरा हाकिम भएर आउनु गम्भीर विषय भएको पर्दाफासलाई बताए।

उनले पालिकाले गर्ने नीतिगत निर्णयमा अपठ्यारो, स्वार्थ बाझिने विषय, पारिवारिक मनपरी जस्ता विषय हावी हुने बताउँदै अदालतले त्यसको व्याख्या गर्ने बताए। उनले हाकिम धामीलाई शैल्यशिखरको जिम्मेवारीबाट तत्काल छोड्न र नछोडे अख्तियारदेखि सर्वोच्च अदालतसम्म जान बाध्य हुने र परिणाम गम्भीर हुने दाबीसमेत गरेका छन्।

तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता अश्विन कुमार पोखरेलले पर्दाफाससँग एउटै पालिकामा बुवा मेयर र छोरा हाकिम हुन पाउने की नपाउने त्यो विषयमा कानून मौन रहेको र अदालतले नै व्याख्या गर्ने बताए।

सो विषयमा हाकिम धामीसँग टेलिफोन सम्पर्क गरि बुझ्न खोज्दा कार्यक्रममा व्यस्त रहेको जवाफ फर्काए।

गाउँ र भूगोल बुझेका नयाँ हाकिम बनेर धामी आउँदा प्रशासनिक कामले फड्को मार्न सक्ने स्थानीयले विश्वास गरेका थिए।

एमालेको बहुमत रहेको शैल्यशिखर नगरकार्यपालिका केही समयदेखि आन्तरिक विवादमा रहेको छ। मेयर, उपमेयर, र एमालेकै अन्य नेताहरूको फरकफरक गुटबन्दीका कारण विवादमा रहेको नगरपालिकाले चालु आर्थिक वर्षको बजेटपनि समयमै ल्याउन नसक्दा विवाद छताछुल्ल देखिएको थियो।

एमाले शैल्यशिखर निकट स्रोतकाअनुसार कार्यपालिका आन्तरिक गुटबन्दीमा फस्दा पालिकामा सोचेअनुसारको विकास निर्माणका कार्यहरू हुन नसकेको हो।

र, यो पनि :

शैल्यशिखर : वडाध्यक्ष डाँगाको लेखापाललाई ‘मारी’ दिने धम्की (अडियोसहित)

प्रतिक्रिया

One thought on “बुवा मेयर भएको पालिकामा छोरा हाकिम र भतिजो इन्जिनियरको राज : यसरी गर्छन् ‘अनियमित’ काम

  1. पत्रुकार महाेदय, म तपाई लाई राम्रोसँग चिन्छु तपाईकाे विगत देखि वर्तमान सबै थाहा छ। तपाइँले काम गर्ने पुरानाे अफिस भत्काएर सफा गरेकाे थाहा छ कि छैन? त्याे सफा गर्ने काम म आउनु भन्दा अगाडीनै सकिएकाे हाे। लागत ईस्टिमेटका आधारमा मैले भुक्तानी दिनु भन्न मिल्दैन ? सरकारी बाईक मर्मतनै गर्नु हुदैन हाे ? यहि हाे भ्रष्टाचार ????? मलाई चिनी कमिलाे र गाेबर कमिलाे काे कथा याद आयाे गाेबर कमिलाेले कहिले पनि चिनीकाे बास्ना थाहा पाउदैन । याद रहाेस !!! जति खेदाे खनेपनि म शैल्यशिखरमा हुदाँ सम्म कानुन बमाेजिम बाहेक केहि काम गर्दिनँ । कसैकाे भाइ लाई कानुन विपरीत नियुक्ति दिन सकिदैन जत्तिसुकै रिस गरे पनि, पछि परेपनि… मलाई दुई पालिकामा बस्न पटक्कै मन छैन। सक्छौ मेराे सरुवा गरिदिनु। तीन महिना सम्म प्रमुख प्रशासकीय अधिकृत विहीन हुदाँ मेरै गृह पालिकाले भाेगेकाे पीडा सहन नसकेर म शैल्यशिखर आउन बाध्य भाकाे हुँ। शैल्यशिखरकाे लागि प्रमुख प्रशासकीय अधिकृत खाेज्नु म एक मिनेट पनि शैल्यशिखरमा बस्दिन। काठमाडौमा बसेर भ्रष्टाचार शव्द प्रयाेग गर्नु भन्दा पालिकामा आएर खबरदारी गर्नु। डाहा गरेर हुन्छ र ???? कुरा रह्यो प्रदाफासमा प्रकाशित सामाचारकाे … म पालिका फर्के पछि प्रेस काउन्सिलमा उजुरी गर्दैछु जेजे गर्छ काउन्सिलले गर्ला…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *