छ महिनामा अवैध हातहतियारसहित १ सय ३४ जना पक्राउ

नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन्।

प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेस प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन्। यस अवधिमा अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन्।

‘अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ। यसबाट हतियारधारी समूह निस्तेज बनेको छ’, प्रहरीले भनेको छ, ‘यसबाट मुलुकमा शान्ति सुरक्षा कायम राख्न सहज भएको छ। आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन्।’

प्रहरीले अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रियता बढाएको उल्लेख गरेको छ।

‘नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सकिएको हो’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भन्नुभयो, “सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ। हतियारको जोखिमबारे सर्वसाधरणलाई चेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरूले समेत हतियार प्रहरीमा बुझाएका छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *