महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् पक्ष भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरू प्रकाशित भएको भन्दै यस खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए।

उनले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र नभइ, ठुला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिए।

राष्ट्रपति पाैडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए।

उनले मुलुकको नीति, कानून निर्माण विकास व्यवस्थापन र नागरिकहरुको आधारभुत सेवा प्रवाहमा संलग्न अधिकार प्राप्त अधिकारीहरुलाई प्रचलित नीति र कानुन बमोजिम निर्धक्कसाथ विवेकशील निर्णय र कार्य सम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्नेमा जाेड दिए।

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढिकरणका लागि संवैधानिक आयोगले राज्यका अन्य अंगहरूलाई बेलाबखत परामर्श तथा सुझाव दिइरहनुपर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *