अध्यागमन कर्मचारी र प्रहरीबीच हातपातको घटनाबारे के बोले गृहमन्त्री श्रेष्ठ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन्।

आईतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानविन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताए।

मन्त्री श्रेष्ठले भने, ‘ त्यसको निम्ति छानविन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं। एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो। प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन। त्यहाँ जब हाम्रो अध्यागमनको कर्मचारीले त्यो अराईबलको प्रक्रियाबाट अगाडि जान खोज्नुभयो। स्वभाविक रुपमा प्रहरीले चेकिङ गर्न खोज्यो। त्यो चेकिङ त गर्नैपर्छ। त्यहाँ हरेक पटक जाँदाखेरी त्यो गर्नुपर्ने स्थिति भएको कारणले गर्दाखेरी वा अरु कुनै कारणले गर्दाखेरी जेहोस त्यहाँ हाम्रो अध्यागमनको अधिकृतले चेकजाँचको लागि सहज हुनुपर्ने त्यस्तो भएनन्। अस्वीकार गरिदियो। पहिलो समस्या त्यही हो। तर प्रहरी कर्मचारी त बर्दीमा छ। बर्दीमा रहेका प्रहरीको जोसँग मतभेद भयो। द्वन्द्व भयो, त्यहाँ अलिकति भनाभन पनि भयो। उनले मात्रै केही गरेको भए त स्वभाविक हुन्थ्यो। अर्को डेस्कमा बसिराखेको एउटा असई कुदेर आएर उसलाई कुट्न जान्छ। त्यस पछि अरु डेस्कमा बसेका २ जना प्रहरी पनि थपिन्छन्। र, लतार्दै लगेर कुट्छ। यस्ता घटनालाई हामी कुनै पनि हालतमा प्रोत्साहित गर्न सक्दैनौं। त्यो गल्ती नै हो। त्यसकारणले त्यो असई जो अर्को जिम्मेवारीमा थियो। दौडेर आएर उसलाई समात्यो। र, लिएर गएर कुटेर अरु दुई जना पनि थपिए। त्यहाँ कमजोरी भएकै छ। त्यसकारण असईलाई निलम्वन गर्ने र अरुलाई पनि हामी विभागीय कारबाही गर्ने भन्ने निष्कर्षमा पुगेका छौं। अव कर्मचारीको हकमा के छ ? कर्मचारीलाई हामीले दोषबिहिन भनेका छैनौं। ती कर्मचारीलाई चाँही हामीले त्यहाँबाट निस्काषन गर्ने र विभागीय कारबाही गर्ने पनि निर्णय गरेका छौं। र दुई वटा प्रहरी कर्मचारीलाई पनि विभागीय कारबाहीको प्रक्रियामा लैजान्छौं। हाम्रो निष्कर्ष त्यहाँ त्यस्तो छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *