सशस्त्रका आइजीपीको पदावधि घटाउने प्रस्ताव

सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी)को पदावधि घटाउने प्रस्ताव गरिएको छ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको ऐन संशोधन प्रक्रिया अगाडि बढाएसँगै आइजीपीको पदावधि घटाउने प्रस्ताव गरेको हो।

माघ तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएसँगै सशस्त्र प्रहरीका ऐन संशोधन प्रकृया अगाडि बढेको गृह मन्त्रालयले जनाएको छ।

सशस्त्र प्रहरी बलले संशोधन प्रक्रियामा मस्यौदाबारे छलफल भइरहेको र आइजीपी राजु अर्यालले पदावधि तीन वर्ष राख्ने प्रस्ताव गरेको बताइएको छ।

सशस्त्रका तल्लो तहका कर्मचारीको वृत्ति विकासलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले यस्तो प्रस्ताव गरेको जनाइएको छ। खासगरी प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरू १८ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता हटाउन उच्च पदको पदावधि घटाउने निर्णय गर्दै मन्त्रालयमा प्रस्ताव गरिएको सशस्त्र प्रहरी बल आइजीपीको सचिवालय स्रोतले जनाएको छ।

उमेर तथा सेवाहदका आधारमा चार वर्ष नै नेतृत्व गर्न पाउने भए पनि अर्यालले आफ्नै पदावधि घटाउने गरी सो प्रस्ताव गृहमा पठाएका हुन्।

गृह मन्त्रालयले यस्तो प्रस्तावलाई कानुन मन्त्रालयमा र कानुनको सहमति आएपछि अर्थमा पठाउनेछ। अर्थले स्वीकृत गरे लोकसेवा आयोगको सहमति लिएर संसद्मा पठाउन मन्त्रिपरिषदमा पेस हुनेछ। त्यसपछि मात्रै संसदमा गई दफावार छलफलपछि ऐन जारी हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *