बजारमा ‘इन्जेक्ट’ हुँदै थियो करिब दुई करोड नक्कली नेपाली रुपैयाँ

प्रहरीको प्रारम्भीक अनुसन्धानले २८ माघको बिहान बरामद भएको करिब दुई करोड नेपाली नक्कली नोट मधेश प्रदेशका आठ जिल्लासहित देशभर विक्री वितरणको तयारी सहित नेपाल भित्रिएको देखाएको छ । मधेश–प्रदेशसहित तराईका जिल्लाहरुमा हुने हाट, मेला र देशभर भइरहेका महोत्सवमा नक्कली नोट विक्री वितरणको योजनासहित शुक्रबार नै नक्कली नेपाली नोटको खेप सुनसरी भित्रिएको खुलेको हो ।

प्रहरी अनुसन्धानमा भारतबाट नक्कली नोट बोकेर आएको गाडी शुक्रबार नै सुनसरी भित्रिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार एकहजार दरका बरामद नोट एकै प्रकारका छैनन् । कुनै पुराना छन्, कुनै नोटको साइज फरक छ भने कुनै नोटमा सेक्युरिटी मार्क समेत राखिएको छ ।
‘पर्फेक्ट फोटोकपी, केही धुमिल र पुराना तथा केहीमा सेक्युरिटी मार्क (सुरक्षा चिन्ह) समेत राखिएको छ,’ एसपी रेग्मीले पर्दाफाससँग भने,‘ प्रारम्भीक अनुसन्धानमा भिड रहने स्थानहरुमा सानो सानो परिमाणमा चलाउने योजना देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीले २८ माघको बिहान एकहजार दरका अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार रूपैयाँ ) बरामद गरेको हो।

भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको हो।

एसपी रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो। नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छनु ।

प्रहरी टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो। प्रहरीले गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले यतिठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद भएको घटनाको बिस्तृत अनुसन्धान भइरहेको पर्दाफासलाई बताए । उनले यसको अनुसन्धान सुनसरी प्रहरीले गरिरहेको र आवश्यकता अनुसार प्रदेश प्रहरीले सहयोगगर्ने बताए ।

एसपी रेग्मीले घटनामा संलग्न थप ब्यक्तिहरुको खोजी भइरहेको बताए । उनले भारतीय गाडी र पक्राउ ब्यक्तिका सम्बन्धमा भारतीय सुरक्षा अधिकारीसँग समेत समन्वय गरेर अनुसन्धान भइरहेको बताए ।

‘भारतमा कुन ठाँउमा उत्पादन भयो, गिरोहका सदस्य र थप विषयमा अनुसन्धानका लागि आवश्यकता अनुसार भारतीय प्रहरीको समेत सहयोग लिनेछौं,’ एसपी रेग्मीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *