खुलामञ्च सधै खुला राख्ने बालेनको चाहना

काठमाडौँस्थित खुलामञ्च खुल्लै राख्न लागेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले खुलामञ्चमा खेलमैदान बनाउन लागिएको समाचारको खण्डन गर्दै खुलामञ्च खुल्लै राख्न लागेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिल्यै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरैभन्दा धेरै ठाउँ खुला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिल्यै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पत्ति विपत् र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनुपर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ ।’

उनले आफूहरूको चाहना खुलामञ्च सधैँ खुला  हुनुपर्ने रहेको बताए । उनले लेखेका छन्, ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ । खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइओस् ।’

मेयर बालेनले यही योजनालाई सार्थक बनाउन आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी कङ्क्रिट हटाउने काम सकाएको बताए । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको आफूहरूको अर्को चरणमा पुगेको समेत बताए ।

उनले भनेका छन्,‘खुलामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्वासी बनाइराख्ने होइन । सार्वजनिक सम्पत्तिमा आँखा लाउने होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर