गठबन्धनको कारण पार्टीले चुनावमा धेरै सिट जितेपनि कार्यकर्तामा उत्साह गुम्यो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको कारण पार्टीले चुनावमा धेरै सिट जितेपनि कार्यकर्तामा उत्साह गुमेको बताएका छन्।
शुक्रबार महासमिति बैठकका लागि सांगठनिक प्रतिवेदन तयार पारेका थापाले आफ्नो प्रतिवेदनमा एक्लै चुनाव लड्दाजस्तो विजयको भाव नझल्किने बताएका गरेका छन्।
उनले भने, ‘त्यसकै निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्यो। निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने रहेछ।’
थापाले गठबन्धनका कारण तिनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने रुख चिन्ह नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको दाबी गरेका छन्।
‘संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्। ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका २ प्रदेश सभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए अर्थात ४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन्। समग्रमा ६२ प्रदेश सभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह रुखमा मत राख्न पाएनन्। त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेशसभामा त कांग्रेसले रुखमा मत राख्न पाए तर प्रतिनिधिसभामा पाएनन्। यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्थामा हामीले पुग्यौँ’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *